आजबाट २० वर्ष पुराना गाडी चलाउन नपाइने



यातायात कार्यालय गण्डकीमा दर्ता भएका २० वर्ष पुराना सवारीसाधन आज (१ चैत)बाट चल्न नपाउने भएका छन् । सार्वजनिक यातायातका रूपमा सञ्चालन भएका यस्ता पुराना सवारीसधानले वातावरण प्रदूषण गरेको भन्दै सरकारले १ चैतबाट सञ्चालनमा रोक लगाएको हो ।

सरकारले २ वर्षअघि अर्थात् १ चैत ०७२ मा २० वर्ष पुराना सवारीसाधन हटाउने निर्णय गरेको थियो । सोही निर्णय कार्यान्वयनस्वरूप पुराना सवारीसधान सञ्चालनमा रोक लगाएको हो । यातायात कार्यालय गण्डकीमा मात्रै २० वर्ष पुराना १६ सय ४० वटा सवारीसाधान छन् । यस्तै, देशभरबाट करिब ६ हजारभन्दा बढी भाडाका सवारीसाधन चल्न नपाउने भएका छन् । यो निर्णण कार्यान्वयन भएसँगै गण्डकीबाट करिब २५ प्रतिशत सवारीसाधन हट्नेछन् ।

गण्डकी अञ्चल यातायात व्यवस्था कार्यालय पोखराका प्रमुख अच्युत रेग्मीले कार्यालयमा दर्ता भई अभिलेख कायम रहेका मध्ये २० वर्ष पुराना सवारीसाधान हटाउन लागेको जानकारी दिए ।

कार्यालय प्रमुख रेग्मीका अनुसार यस क्षेत्रमा २० वर्ष पुगेका सार्वजनिक सवारीसाधनमध्ये सबैभन्दा धेरै हाते ट्र्याक्टर छन् । यहाँ ४ सय ९५ वटा हाते ट्र्याक्टर, ४ सय ३३ वटा ट्याक्सी, २ सय ८३ वटा ठूला बस, २ सय ३४ वटा ट्रक रहेको कार्यालयले जनाएको छ ।यसैगरी, ६ वटा मिनिबस, मिनिट्रक २७ वटा, ठूला ट्र्याक्टर ७ वटा, जिप ८७ वटा, माइक्रोबस २ वटा, पिकअप ७ वटा, भ्यान ६ वटा, पर्यटक बस ८ वटा, पर्यटक मिनिबस ३ वटा, पर्यटक जिप ५ वटा, पर्यटक माइक्रोबस ५ वटा, पर्यटक भ्यान ३ वटा र पर्यटक कार ३५ वटा छन् ।

सरकारको निर्णय मान्दैनौँ : व्यवसायी
यातायात व्यवसायीले भने सरकारको सो निर्णय मान्य नहुने बताएका छन् । सवारीसाधन चल्न नपाउने भएपछि पुँजी पलायनसँगै हजारौँको रोजीरोटी गुम्ने भएकाले सो निर्णय खारेज हुनुपर्ने उनीहरूको माग छ ।

प्रतिक्रिया दिनुहोस्