डोनाल्ड ट्रम र किम जोङबीचको वार्ता सफल होला ?



गत वर्ष उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प एकअर्काको गाली–बेइज्जती गर्न पछि परेनन् । साना केटाकेटीको भनाभनझैँ उनीहरूको गालीगलोज सुनियो । ‘रकेट मेन अत्मघाती मिसनमा’ भएको भन्दै ट्रम्पले किमलाई होच्याए । प्रत्युत्तरमा किमले ‘मानसिक सन्तुलन ठीक नभएको अमेरिकी वृद्ध’को संज्ञा ट्रम्पलाई दिए । यसरी यी दुई परस्परविरोधी नेताको वाक्युद्धले चर्को रूप धारण गर्‍यो । तर, अहिले आएर अप्रत्यासित तथा नाटकीय रूपमा आउँदो मे महिनामा यी दुई नेताले भेटवार्ता गर्ने कार्यक्रम तय गरिएको छ । परमाणु कार्यक्रमलाई बन्द गर्न तथा ट्रम्पसँग प्रत्यक्ष कुराकानी गर्न किम तयार भएको खबर बाहिर आएका छन्, जसमा ट्रम्पले समेत सहमति जनाइसकेका छन् ।

रमेश ठाकुर

तर, अचानक आएको यस किसिमको विकसित घटनाक्रमप्रति पूर्ण आशावादी भइहाल्नुभन्दा सतर्कता अपनाउन आवश्यक हुने देखिन्छ । परमाणु समस्याको मुख्य जड उत्तर कोरिया बनेको छ । न दक्षिण कोरिया, न त अमेरिकासँग नै उत्तरको आणविक कार्यक्रम रोक्न सक्ने सामथ्र्य छ । यसर्थ पनि किमसँग गरिने भनिएको वार्ताबाट ट्रम्प उम्किन हुन्न । यसलाई निर्णायक बनाउन उनी केन्द्रित हुनुपर्छ । इतिहासलाई हेर्दा युद्धविराम गरिए पनि कुनै शान्ति–सम्झौताविनै सन् १९५३ मा कोरियाली युद्धको अन्त्य भयो । अहिले पनि उत्तर कोरिया र दक्षिण कोरियाको सम्बन्धमा सुधार हुन सकेको छैन । तर, यसो भनिरहँदा दुई देशबीच योजनाबद्ध परमाणु आक्रमण हुने सम्भावना त देखिएको छैन । यद्यपि, भ्रमपूर्ण सञ्चार, गलत धारणा तथा गलत आँकलनका कारण हुन सक्ने युद्धको खतरा भने यथावत् छ ।

पछिल्लो विकसित राजनीतिमा नजर लगाउँदा अहिलेसम्म भएका महत्वपूर्ण घोषणा दक्षिण कोरियाबाट भएको देखिन्छ । उत्तर कोरिया तथा अमेरिकाबाट खासै प्रयास भएको देखिन्न । दक्षिण कोरियाका राष्ट्रपति मुन जाई इन उत्तर कोरियाली शरणार्थी बाबुका छोरा हुन् । उत्तर कोरियामाथि आवश्यकताअनुसार प्रतिबन्ध तथा कूटनीति दुवै नीति अवलम्बन गर्ने बाचाका साथ उनी राष्ट्रपतिमा चुनिएका हुन् । सोही मर्मअनुरूप दक्षिण कोरियामा हिउँदे ओलम्पिक आयोजना गर्ने सोच मुन जाईमा आयो । हिउँदे ओलम्पिकको अवलोकन गर्न किम जोङ उनकी बहिनी किम यो जोङ दक्षिण कोरियाको पेङचङ पुगिन् । एउटै टोलीको रूपमा दुई देशले प्रतिस्पर्धामा भाग लिए । लगत्तै मुन जाईका राष्ट्रिय सुरक्षा सल्लाहकार चुङ उई योङ र खुफिया प्रमुख सु हुनले उत्तर कोरियाको प्योङयाङ र अमेरिकाको वासिङ्टनको भ्रमण गरे । अमेरिकाका लागि दक्षिण कोरियाली राजदूत चो युन जीका साथ यी दक्षिण कोरियाली प्रतिनिधि ह्वाइट हाउस पुगेका थिए र त्यहीँबाटै आउँदो मे महिनामा किम र ट्रम्पले भेटवार्ता गर्ने घोषणा गरे । तर, सो घोषणा भइरहँदा कुनै पनि अमेरिकी अधिकारीको भने उपस्थिति देखिएन ।

उत्तर कोरियाले सन् २००६ मा पहिलो परमाणु परीक्षण गर्‍यो । अहिलेसम्म ६ वटा परमाणु परीक्षण उत्तरले गरिसकेको छ । उत्तर कोरियाको परमाणु कार्यक्रम धेरै पक्षहरू जोडिएका छन् । यसर्थ किमसँग गरिने वार्तामा उनको परमाणु कार्यक्रममा प्रतिबन्ध लगाउने, अनुमति दिने तथा फेरबदल गर्न सकिने विषयमा आधारित हुनुपर्छ । अनि यसको बदलामा अमेरिकाले के सम्झौता गर्ने भन्नेमा प्रस्ट हुन आवश्यक छ । उत्तर कोरियाको हालको परमाणु क्षमतालाई घटाउने वा पूर्ण रूपमा हटाउने ? अथवा उसको परमाणु कार्यक्रम अस्थायी समयसम्म वा स्थायी रूपमै बन्द गराउने भन्ने मुद्दा वार्तामा उठ्नुपर्छ । उत्तरको अणविक हतियार प्राप्ति तथा वार्ताका लागि सहमति जनाउने नियतभित्र यी प्रश्नको उत्तर लुकेको छ ।

स्लोबोदन मिलोसेभिक, सद्दाम हुसेन र मुअम्मर इल–गद्दाफीको नियतिबाट किमले ठूलो पाठ सिकेका छन् । यसर्थ, किम सत्तामाथि हुन सक्ने अमेरिकी हस्तक्षेपलाई निस्तेज बनाउने एक मात्र अचुक साध्य परमाणु हतियार हो भन्ने किमले बुझेका छन् । सन् १९५३ पछि अमेरिकाले उत्तर कोरियामाथि आक्रमण गरेको छैन । तर, उत्तर कोरियाको बढ्दो परमाणु क्षमताले अमेरिकालाई युद्धको तयारी गर्न उत्तेजित बनाएको छ । उत्तर कोरियाको परमाणु हतियारको उत्पादनलाई रोक्न बाध्य बनाउने भन्दै संयुक्त राष्ट्रसंघले लगाएको प्रतिबन्ध प्रभावकारी हुन सकेको छैन ।

वास्तवमा किम–ट्रम्प वार्ता एउटा ठूलो अवसर हो । यस्तो अवसर बारबार नआउने हुनाले अवसर खेर फाल्नु हुँदैन । तर, विदेश नीतिसम्बन्धी अनुभवका कारण ट्रम्पको व्यवहारमा गम्भीरता देखिँदैन । अहिलेसम्म दक्षिण कोरियाका लागि अमेरिकी राजदूत तोकिएका छैनन् । अर्कोतर्फ उत्तर कोरियाली नीतिका लागि अमेरिकी विशेष प्रतिनिधि जोसेप युनले पनि यही महिना अवकाश प्राप्त गरिसकेका छन् । बृहत् कूटनीतिक गृहकार्य नगरेको खण्डमा ट्रम्पलाई किमले छायामा पार्न सक्छन् ।

यसर्थ, प्रतिबन्धपछिको पीडाले किमलाई वार्तामा आउन बाध्य तुल्यायो भनेर निष्कर्ष निकाल्नु खतरापूर्ण सावित हुन सक्छ । यसैगरी, उत्तर कोरियामाथि सैन्य आक्रमण गर्ने अमेरिकी धक्कीले पनि किमलाई खासै असर गर्न सकेन । पश्चिमा विज्ञहरूले समेत उक्त धम्कीमाथि विश्वास गरेका छैनन् । उत्तर कोरियाको परमाणु भट्टीको पहिचान गर्न र तिनलाई ध्वस्त गर्न सक्ने सामथ्र्य अमेरिकासँग छैन । यस्तैमा, उत्तरको परमाणु बम उत्पादन गर्ने पूर्वाधार र बम ओसारपसार गर्ने साधन ध्वस्त पार्ने क्षमताको अभाव अमेरिकी पक्षमा छ । उत्तर कोरियासँग खतरनाक सैन्य क्षमता छ । उसले प्रयोग गर्न सक्ने हतियार, द्वन्द्व भएको क्षेत्र र निसानामा परेको देशका आधारमा २ करोड ५० लाखभन्दा बढी मानिसको ज्यान लिन सक्छ ।

गत फेब्रुअरी महिनामा दक्षिण कोरियाका राष्ट्रपति मुन जाईले वार्ताको पहिलो प्रयासस्वरूप अमेरिका लचक हुनुपर्ने र उत्तर कोरियाले पनि परमाणु कार्यक्रम रोक्न इच्छाशक्ति देखाउनुपर्ने आवश्यकता औंल्याएका थिए । नभन्दै मुन जाईको उक्त सुझाबमा अमेरिका सहमत भएका कारणले नै किम र ट्रम्पबीच वार्ता हुने विषय चर्चामा आएको छ । वार्ताका लागि पहिले उत्तर कोरियाले आफ्नो परमाणु कार्यक्रम बन्द गर्नुपर्ने सर्त यसअघि अमेरिकाले राख्दै आएको थियो । तर, यसो भनिरहँदा अमेरिका एक्लैलाई किमले पत्याइहाल्नेमा विश्वस्त हुन सकिन्न ।

यसकारण वार्ता सफल बनाउन चीन, रुस, जापानलगायत शक्तिराष्ट्रको सहयोग आवश्यक छ भने संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले समर्थन जनाउनुपर्छ । किम र ट्रम्पबीच हुने भनिएकोे वार्ताको खबरलाई चीन र रुसले स्वागत गरिसकेका छन् । तर, जापानले भने खबरप्रति असहजता प्रकट गरेको छ । यी सबै पक्षबाट उत्तर कोरियाले ६ वटा प्रतिबद्धताको अपेक्षा गरेको छ । सन् १९५३ को उत्तर–दक्षिण कोरिया युद्धविरामलाई विस्थापन गर्ने नयाँ शान्ति–सम्झौता, प्रतिबन्ध फुकुवा, दक्षिण कोरिया र अमेरिकाबीचको सैन्य अभ्यास अन्त्य, उत्तर कोरियालाई कूटनीतिक मान्यता, उत्तर कोरियाली अन्तरिक्ष गतिविधिलाई स्वीकार गर्नुका साथै परमाणु ऊर्जाका लागि सहयोग गरिनुपर्ने प्रतिबद्धता उसले खोजेको छ ।

वार्ता नहुन्जेल उत्तर कोरियाले आफ्नो सम्पूर्ण परमाणु तथा मिसाइल परीक्षण बन्द गर्नुपर्छ । यद्यपि, उसमाथिको प्रतिबन्ध भने यथावतै रहनुपर्छ । यस सन्दर्भमा अमेरिका र दक्षिण कोरियाले सैन्य अभ्यास रोक्छन् कि रोक्दैनन् भन्ने प्रश्न महत्वपूर्ण छ । उत्तर कोरियाका लागि परमाणु कार्यक्रम पूर्ण रूपमा बन्द गर्नु भनेको अमेरिकाले पनि कोरियाली प्रायद्वीपबाट परमाणु प्रतिरक्षा प्रणाली हटाउनु हो।

वास्तवमा किम–ट्रम्प वार्ता एउटा ठूलो अवसर हो । यस्तो अवसर बारबार नआउने हुनाले अवसर खेर फाल्नु हुँदैन । तर, विदेश नीतिसम्बन्धी अनुभवका कारण ट्रम्पको व्यवहारमा गम्भीरता देखिँदैन । अहिलेसम्म दक्षिण कोरियाका लागि अमेरिकी राजदूत तोकिएका छैनन् । अर्कोतर्फ उत्तर कोरियाली नीतिका लागि अमेरिकी विशेष प्रतिनिधि जोसेप युनले पनि यही महिना अवकाश प्राप्त गरिसकेका छन् । बृहत् कूटनीतिक गृहकार्य नगरेको खण्डमा ट्रम्पलाई किमले छायामा पार्न सक्छन् । हिउँदे ओलम्पिकमा भाग लिइसकेको अवस्था र ट्रम्पसँग वार्ता गर्न आफू तयार भएको किमको भनाइले उनको प्रोपोगान्डालाई मजबुत बनाइसकेको छ । यसर्थ, ट्रम्पसँग किमले गर्ने वार्ताले वैधता पाउनेछ । अर्कोतर्फ, अहिलेसम्म ट्रम्पले आफूलाई व्यावहारिक भएको सावित गर्न खोजेका छन् । उत्तर कोरियामाथि दबाब बनाएर किमलाई कूटनीतिक समाधान खोज्ने बाटोमा आउन सहयोग गरेको भन्दै दक्षिण कोरियाली राष्ट्रपति मुन जाईले समेत ट्रम्पको प्रशंसा गरेका छन् । यसर्थ, परमाणु खतरालाई समाधान गरेर शान्तिको आशा जगाउन ट्रम्पले वार्ताको मौकालाई सदुपयोग गर्न जरुरी छ ।

(रमेश ठाकुर संयुक्त राष्ट्रसंघका पूर्वसहायक महासचिव हुन् ।)
कपिराइट : प्रोजेक्ट सिन्डिकेट, २०१८
(नयाँ पत्रिका र प्रोजेक्ट सिन्डिकेटको सहकार्यमा)
www.project-syndicate.org

प्रतिक्रिया दिनुहोस्