काठमाडौँ १ चैत । गत सोमबार दुर्घटनामा परेको युएस बंग्ला विमानका मृतकका परिवारले यथाशीघ्र शव उपलब्ध गराइदिन सरकारसँग माग गरेका छन् ।
विमान दुर्घटनामा दिवंगत भएको ४९ जनाका आफन्त र परिवारजनले सरकारसँग शव उलब्ध गराइदिन याचना गरेका हुन् ।
मृतक ४९ जनाको शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जस्थित फरेन्सिक विभागमा राखिएको छ । र, शनिबारसम्म परीक्षण सकिने विभागले जानकारी दिएको छ ।
तर, समयमा शव परीक्षण नहुँदा पीडितहरू थप मर्माहत भएको दिवंगत डा. बालकृष्ण थापाका भतिजा प्रह्लाद थापाले जानकारी दिएका छन् । “तीनदिन भयो, अस्पताल कुरेर बसेको अझै शव पाएका छैनौँ,” उनले परिवर्तन खबरसँग भने ।
त्यस्तै गुनासो नुवाकोट विदुरकी स्वेता थापाका बुबा गजेन्द्र थापाको पनि छ ।
“शव पाइने आशमा दिनहुँ अस्पताल धाएका छौँ । साँझ विभागको बिफ्रिङ सुनेर फर्किने काममात्र भएको छ,” उनको पीडा थियो ।
त्यस्तै विभागमा २६ बंगाली नागरिकका शव पनि परीक्षणको क्रममा छ । पहिचान हुन नसकेकाले ती शव पनि आफन्तले बुझ्न पाएका छैनन् ।
विभागीय प्रमुख प्रमोद श्रेष्ठले शनिबारसम्म केही शव हस्तान्तरण गर्न सकिने बताए ।
“पहिचान खुलेका शव शनिबारसम्म आफन्तलाई जिम्मा लगाउँछौँ,” उनले थपे ।
उनले कतिपय शव जलेर कालो भएकाले पहिचान गर्न कठिन भएको बताए । त्यस्ता प्रकृतिका शवको पहिचान हुन नसके डीएनए परीक्षण गर्नुपर्ने र त्यसको नतिजा आउन एकमहिना समय लाग्ने बताए ।
बुधबारसम्म २३ शवको पोस्टमार्टम भएकाले धैर्यधारण गर्न परिवाजनसँग अपिलसमेत गरे ।