आजभोलि धेरै ग्यास्ट्रिकको समस्या लिएर अस्पताल जाने गर्छन् । ग्यास्ट्रिक नभएका मानिस भेट्न मुस्किल पर्छ । यो समस्या विभिन्न कारणले देखा पर्छ । ग्यास्ट्रिक नेपालीको राष्ट्रिय रोग हो भन्दा पनि केही फरक पर्दैन । धेरैको ग्यास्ट्रिक गुनासो सुन्न पाइन्छ हिजोआज । मानिस खान नपाएरभन्दा पनि खान नजानेर रोगी छ हिजोआज । त्यसो भए के गर्ने त ? यदि ग्यास्ट्रिक छ भने यी कुरामा ध्यान दिनुस्, तपाईंको समस्या च्वाट्टै निको हुन सक्छ ।
प्रशस्त पानी पिउने
लगातार पानी पिउँदा पेटमा ग्यास जम्मा हुन पाउँदैन । जिउमा समेत पानीको सन्तुलन कायम राख्छ । तर, पानीको सट्टा कोक, फेन्टाजस्ता कोल्डड्रिङसकको प्रयोग गर्नु हुँदैन । यसले पेटमा ग्यास बढाउँछ ।
लसुनपानी
बिहान उठ्नासाथ दुई–तीन पोटी लसुन पानीसँग निल्ने हो भने ग्यास्ट्रिक भएकाहरूलाई फाइदा गर्छ । उच्च रक्तचाप भएकालाई समेत यसले फाइदा गर्छ ।
खाना समयमा खाने
ग्यास्ट्रिक भएकाहरूले सकेसम्म प्रत्येक दुई घन्टाको फरकमा खाना खाने गर्नुपर्छ । लामो समय केही नखाँदा पेटमा हावा भरिएर यसले समस्या उत्पन्न गर्छ ।
कागती पानी
पेटमा धेरै ग्यास भएको अवस्थामा कागतीपानी पिउने गर्नुपर्छ । यसले ग्यास हटाउने काम गर्छ र पेट फुल्न दिँदैन । खाली पेटमा कागतीपानी खानाले पेटमा ग्यास कम हुन्छ ।
कार्बोहाइड्रेड कम खाने
पेटमा ग्यास जमेर पचाउन गाह्रो पर्ने भएकाले बियर, वाइन, मकै, राज्मा, बन्दा, प्याजजस्ता खानेकुराबाट टाढै बस्नु उपयुक्त हुन्छ ।
दूध नपिउने
ग्यास्ट्रिक भएकालाई दूधले फाइदा गर्दैन । पचाउन गाह्रो पर्ने भएकाले दूध नखानु नै बेस हुन्छ । यसको सट्टा दही र दूधबाट बनेका अन्य परिकार खानु राम्रो हुन्छ ।