बिचरा ईश्वर पोखरेल यसकारण अर्थमन्त्री हुन पाएनछन्, रहस्य खुल्यो



काठमाडौं, १ चैत

‘पहिला मेरो पिएसँग समय मागेर मलाई भेट्न आउने मान्छे । अहिले मैले कतिचोटि फोन गर्दा पनि उठाउनुहुन्न ।’

एउटै क्याबिनेटका मन्त्रीबीचको सम्बन्ध यस्तो हुन्छ ? हुनु नपर्ने, तर भइरहेको छ । स्थायी कमिटीको बैठक आसपास अनौपचारिक कुराकानीमा एमाले महासचिवले यसरी असन्तुष्टि पोखेका हुन् । प्रसंग हो, ईश्वर पोखरेल र डा.युवराज खतिवडाको । चर्चा थियो ईश्वर–ओलीको क्याबिनेटमा उपप्रधानसहित अर्थ मन्त्रालयको जिम्मेवारी बहन गर्न जाँदैछन् । महासचिवले यस्तो जिम्मेवारी लिएर सरकारमा जाने अनुमान मनासिव नै हो ।

सँगै अर्काे चर्चा पनि थियो, राष्ट्रबैंकको गभर्नर, योजना आयोगको उपाध्यक्षजस्तो पद सम्हालिसकेका डा.खतिवडा ईश्वरलाई सफल पार्न राज्यमन्त्रीका रुपमा त्यही मन्त्रालयमा बहाली हुने छन् । योजनाअनुसार खतिवडा मन्त्रिपरिषद्को सिफारिसबमोजिम राष्ट्रियसभा सदस्य नियुक्त पनि भए । त्यसपछि ईश्वरले फोन गरे, तर उठेन । यहीँबाट झस्को पसिसकेको रहेछ, कुरा बिगार्दै छन् भन्ने । ईश्वरले सुनाए, ‘मैले नै उहाँलाई राष्ट्रियसभा सदस्यका लागि ३ नं. प्रदेशबाट खुलातर्फ उठाऔँ र अर्थ राज्यमन्त्री बनाऔं भनेको हुँ । तर, मेरो बाटो छेक्न लुम्बिनीतिरका साथीहरू उहाँसँग लाग्नुभएछ ।’ यसो भन्नका लागि ईश्वरले महाधिवेशनदेखि पार्टी अध्यक्ष तथा प्रम ओलीसँगको सामीप्यतासम्मका केही कुरा खोलेका छन् ।

बुझिएअनुसार, ईश्वर मन्त्री बन्न त्यसदिन ठिक्क परिसकेका थिए, जुन दिन ओली शीतल निवासमा शपथका लागि पुग्दै थिए । शपथअघि धुम्बाराही पार्टी कार्यालयमा संसदीय दलको नेता चयन गर्ने र समानुपातिक सांसदलाई प्रमाणपत्र वितरण गर्ने बैठकमा उनले पटक–पटक ओलीसँग आफू अहिले शपथका लागि तयार हुने कि नहुने भनेर जान्न चाहे, तर जवाफ पाएनन् । त्यसबेला झस्किए, जब बैठकमा माधव नेपालले ओलीको नाम प्रस्ताव गरे, जसलाई ध्वनीमतले पारित ग¥यो । माधव केपीसँग मिलिसकेपछि ईश्वरको नम्बर काटिन्छ भन्ने अरुले त बुझिसकेका थिए । तर, ईश्वरचाहिँ पत्याइरहेका थिएनन् । ०६१ माघ १९ मा मन्त्री भएकै बेला राजाको ‘कू’ पछि ईश्वर सप्तरीमा बन्दी बनाइए ।

ट्यांकीमा पैसा लुकायो भनेर सत्ताधारीहरूले हल्ला चलाउँदा एमालेकै केही मान्छे ताली पिट्न मग्न थिए । त्यसबेला महासचिव माधव नेपाल थिए, कावा महासचिव झलनाथ खनाल । तर, आफूमाथि भएको त्यस्तो घोर अन्यायको कसैले प्रतिवाद गरेनन् । यो कुरा सम्झँदै केही महिनाअगाडिको एउटा अनलाइन अन्तर्वार्तामा ईश्वरले भनेका थिए, ‘माधव नेपाल मेरा लागि त्यतिबेलै मरिसके । उनीसँग अहिले मेरो कुनै सम्बन्ध–सरोकार बाँकी छैन ।

बरु, त्यसबेला योगेशसँग उपत्यका समन्वय कमिटीमा सँगै थियौँ र उनले मलाई साथ दिए ।’ राजनीतिको खोलो कहिले कताबाट, कसरी कुन रफ्तारमा फर्किन्छ भन्ने टुंगो हुँदैन । आजको जनआस्था साप्ताहिकमा समाचार छ – एकाएक माधव–ओलीको केमिष्ट्री मिल्न पुगेको बेला ईश्वर परेका रहेछन्, घानमा । त्यसमाथि डा.खतिवडा माधव नेपाल प्रधानमन्त्री हुँदा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र ओली प्रधानमन्त्री हुँदाका गभर्नर । अर्थात्, ‘ब्यालेन्स पोलिटिक्स’ को फाइदा उनले उठाए, त्यस्तो नजान्दा ईश्वरले अवसर गुमाए ।

प्रतिक्रिया दिनुहोस्