काठमाडौ,१ चैत
काठमाडौं उपत्यकाभित्र गुड्ने सार्वजनिक सवारीका चालक तथा सह(चालकले आगामी चैत ६ गतेदेखि विशेष पोशाक (ड्रेस) लगाउन थाल्ने भएका छन् ।
काठमाडौँबाट शुरु गरीने विशेष पोशाक लगाउने व्यवस्थालाई क्रमैसँग बाहिरी जिल्लामा पनि लागू गरिने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
यातायात मजदुरको पहिचान झल्किने गरी विशेष ड्रेस कोड तोकिएको र त्यसको सुरुवात माइक्रोबसबाट गर्ने तय भइसकेको महानगरीय ट्राफिक प्रहरीले जनाएको छ ।
माइक्रो बसका चालकले पहेँलो र सहचालक हरियो रंगको पोशाक लगाउनेछन् । गर्मी सुरु भएकाले उनीहरुले पातला ‘विन्ड चिटर’ लगाउने छन् ।
महाशाखाले सार्वजनिक सवारीका चालक तथा सहचालकलाई अनुशासित बनाउन छुट्टै ड्रेसको व्यवस्था गर्न केही महिनाअघि देखि नै प्रयास थालेको थियो ।
उपत्यकाका झण्डै ५० वटा यातायात समितिले युनिफर्म तोक्ने विषयमा सहमति जनाइसकेका छन् । महाशाखा प्रमुख सर्वेन्द्र खनालले लामो समय व्यवसायीसँग छलफल गरेर यसलाई कार्यान्वयनमा लैजाने तयारी गरेका हुन् ।