भक्तपुर औद्योगिक क्षेत्रमा निःशुल्क स्वास्थ्य क्लिनिक शुरु



भक्तपुर, १ चैत

भक्तपुरका बासिन्दा र मजदूर वर्गलाई लक्षित गरी भक्तपुर औद्योगिक क्षेत्र व्यासीमा आजबाट निःशुल्क स्वास्थ्य क्लिनिक सञ्चालनमा आएको छ ।

भक्तपुर उद्योग वाणिज्य संघ, जिल्ला समन्वय समिति भक्तपुर, लायन्स क्लब अफ भक्तपुर र डा इबामुरा मेमोरियल अस्पतालले संयुक्त रुपमा निःशुल्क स्वास्थ्य क्लिनिक सञ्चालनमा ल्याएको हो ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आज क्लिनिकको उद्घाटन गर्दै नगरपालिकाले निकट भविष्यमा आफ्नै अस्पताल सञ्चालनको तयारी गरिरहेको बताउँदै यो अवस्थामा यहाँका बासिन्दालाई लक्षित गरी निःशुल्क क्लिनिक सञ्चालन गर्नु उपलब्धिमूलक हुने बताउनुभयो ।

सो अवसरमा भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद प्रजापतिले औद्योगिक क्षेत्रका कामदार र भक्तपुरका विपन्न परिवारका लागि निःशुल्क क्लिनिकले सहयोग पुर्याउने बताउनुभयो ।

कार्यक्रममा डा इवामुरा मेमोरियल अस्पतालका व्यवस्थापक रञ्जित मारिखुले हरेक दिन बिहान ८ देखि १० बजेसम्म सञ्चालन हुने क्लिनिकमा इवामुरा अस्पतालको प्राविधिक सहयोग रहने बताउँदै बिरामीलाई निःशुल्क औषधिसमेत वितरण गरिने बताउनुभयो ।

स्वास्थ्य समस्या लिएर घरमै बस्ने तर अस्पताल नजाने धेरै विपन्न परिवार भक्तपुरमा रहेको गुनासो आएपछि टोलमै स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले क्लिनिक शुरु गरिएको उहाँको भनाइ थियो । आवश्यकता र बिरामीको चाप बढेमा क्लिनिक सञ्चालनको समयलाई बढाउँदै लैजाने बताउँदै शनिबार भने क्लिनिक बन्द हुने बताउनुभयो ।

क्लिनिकमा आज २०० जनाले स्वास्थ्य परीक्षण गर्नाका साथै निःशुल्क औषधि वितरण गरिएको छ । दाँत, नशा, हाडजोर्नी, स्त्री रोगलगायतका परीक्षण गरिएको थियो । (रासस)

प्रतिक्रिया दिनुहोस्