तेह्रथुम, १ चैत
सोल्मामा आधुनिक प्रविधि जडित उच्च उत्पादन क्षमताको अर्थोडक्स चिया प्रशोधन उद्योग स्थापना हुने भएको छ ।
लालीगुराँस नगरपालिका–९, सोल्मास्थित सिंहदेवी चिया उत्पादक सहकारी संस्थामार्फत स्थानीय चिया उत्पादक किसान आफैँले उद्योग स्थापना गर्न लागेका हुन् ।
उन्नति परियोजनाको सहयोगमा सोल्माका किसान शेयर सदस्य रहेको सहकारीले चिया प्रशोधन उद्योग स्थापना गर्न लागेको हो । रु तीन करोडभन्दा बढी लागतमा निर्माण सम्पन्न हुने उक्त उद्योगको संरचना निर्माण अन्तिम चरणमा पुगेको छ । उद्योगको भवन निर्माण, चिम्नी, चुलो, गार्ड रुम निर्माण आदि संरचना निर्माण अन्तिम चरणमा पुगेका छन् । उद्योगलाई आवश्यक मेसिनसमेत खरिद गरी जडान गर्ने काम भइरहेको उक्त सहकारी संस्थाका व्यवस्थापक तथा जिल्ला चिया उत्पादक सहकारी संघका अध्यक्ष शंकर खनालले बताउनुभयो ।
उद्योगका लागि अहिलेसम्म रु एक करोड ४० लाख २९ हजार खर्च भइसकेको छ । त्यसमध्ये रु ८७ लाख ५४ हजार उन्नति परियोजनाले उपलब्ध गराएको हो । उद्योगको मेसिनेरी सामान खरिदका लागि रु ७६ लाख ७६ हजार खर्च भएको छ । भवन निर्माणका लागि रु ५७ लाख ५८ हजार, पत्ती संकलन गर्ने पिक अप खरिदका लागि रु २१ लाख ९६ हजार र ट्रान्सफर्मर खरिदका लागि रु चार लाख ३९ हजार खर्च भएको सहकारी संस्थाका अध्यक्ष खेमबहादुर केप्छाकीले बताउनुभयो ।
“चैत दोस्रो सातापछि उद्योग सञ्चालनमा आउनेछ,” उहाँले भन्नुभयो । उद्योग सञ्चालनमा आए वार्षिक ४० हजार किलो अग्र्यानिक अर्थोडक्स चिया उत्पादन हुनेछ । उद्योगले तत्कालका लागि जिल्लामा उत्पादन भएको सबै हरियो चिया पत्ती खपत गर्न सक्नेछ ।
हाल सोल्मामा डेढ लाख किलो हरियो पत्ती उत्पादन हुन्छ । शुक्रबारे, ओयाक्जुङ, मोराहाङ, श्रीजुङलगायत क्षेत्रमा उत्पादित चिया पत्तीसमेत गरी वार्षिक पचास हजार किलो जम्मा भएमा त्यो सबै हरियो पत्ती उद्योगले खपत गर्न सक्छ । सो उद्योगमा प्रत्यक्ष/अप्रत्यक्ष रुपमा दुई सयभन्दा बढीले रोजगारी पाउने भएका छन् ।
सोल्मामा २१९ परिवाले करीब एक हजार ४०० रोपनी क्षेत्रफलमा चिया खेती गर्दै आएका छन् । जिल्लामा कूल दुई हजार ४०० रोपनीमा चिया खेती गरिएको तथ्यांक छ । चिया खेतीमा ४०५ परिवार संलग्न रहेको जिल्ला चिया उत्पादक सहकारी संघले जनाएको छ । ती किसानले कम्तीमा एक रोपनीदेखि ४० रोपनीमा चिया खेती गरेका छन् । (रासस)