कीर्तिमान सहित मेस्सीको दुई गोल, बार्सिलोना क्वाटरफाइनलमा



बार्सिलोना, १ चैत

गए राति च्याम्पियन्स लिग अन्तिम १६ को दोस्रो लेगमा बार्सिलोनाले चेल्सीलाई ३-० ले हराएको छ । यस जितसँगै बार्सिलोनाले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित पनि पारेको छ ।

लियोनल मेस्सीको गोलमार्फत बार्सिलोनाले खेलको तेस्रो मिनेटमै अग्रता लिन सफल भएको हो । त्यस्तै बार्सिलोनाले खेलको २० औं मिनेटमा आफ्नो अग्रता दोब्बर पार्न सफल रह्यो । मेस्सीको पासमा उस्माने डेम्बेलेले बलियो प्रहार गरेर स्कोर २-० बनाएका थिए ।

दोस्रो हाफमा मेस्सीले कीर्तिमानी गोल गर्न सफल रहे । ६३ औं मिनेटमा खेलमा व्यक्तिगत दोस्रो गोल गर्दै मेस्सीले बार्सिलोनाको जित तथा क्वाटरफाइनलमा स्थान सुनिश्चित पारेका थिए । बार्सिलोनाले समग्रमा ४-१ को जित हात पार्न सफल रह्यो ।

मेस्सीको दोस्रो गोलद्वारा उनले च्याम्पियन्स लिगमा आफ्नो १ सयौं गोल पुरा परे। च्याम्पियन्स लिगमा १ सय गोल पुरा गर्ने क्रिस्टियानो रोनाल्डो पछि उनी दोस्रो खेलाडी हुन् । तर उनले रोनाल्डोभन्दा कम खेलमा सो कोसेढुङ्गा प्राप्त गरे ।

रोनाल्डोले १ सय गोल १ सय ३७ खेलमा पुरा गरेका थिए भने मेस्सीले १ सय २३ खेलमै आफ्नो १ सय गोल पुरा गरे । १ सय १७ गोल सहित रोनाल्डो च्याम्पियन्स लिगको सर्वाधिक गोलकर्ता हुन् ।

त्यस्तै बायर्न म्युनिखले बेसिक्टासलाई ३-१ ले हराउँदै ८-१ को समग्र जितसहित च्याम्पियन्स लिग क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित पारेको छ । क्वाटरफाइनलमा पुग्न सफल टोलीमा रियल म्याड्रिद, लिभरपुल, म्यानचेस्टर सिटी, युभेन्टस, सेभिया, रोमा, बार्सिलोना र बायर्न म्युनिख रहेका छन् । -(एजेन्सी)

प्रतिक्रिया दिनुहोस्