चैतको अन्तिम साता राष्ट्रिय औद्योगिक प्रदर्शनी



काठमाडौँ, १ चैत

नेपाल उद्योग परिसंघ र चितवन उद्योग संघको संयुक्त तत्वावधानमा भरतपुरमा राष्ट्रिय औद्योगिक प्रदर्शनी २०७४ हुने भएको छ ।

आगामी चैत २३ देखि २७ गतेसम्म आयोजना हुने उक्त प्रदर्शनीमा कृषि, उद्योग, पर्यटन, शिक्षा, स्वास्थ्य, विज्ञान तथा प्रविधि, हस्तकला, मूर्तिकलालगायतका उत्पादन रहने २५० स्टल राखिने छन् । कृषिजन्य उद्योग तथा पर्यटनलगायत सेवा उद्योगको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको उक्त प्रदर्शनीमा स्वदेशी कम्पनीका स्टल नरहने परिसंघका अध्यक्ष हरिभक्त शर्माले जानकारी दिनुभयो ।

प्रदर्शनीमा औद्योगिक यन्त्र तथा उपकरण, विद्युतीय सामान, माटाका भाँडा तथा धातुका सामान, निर्माण सामग्री, माहुरी, माछा तथा पोल्ट्रीजन्य वस्तु पनि राखिने उहाँले बताउनुभयो ।

चितवन उद्योग संघका अध्यक्ष भेषराज दवाडीले ३ नं प्रदेशलाई औद्योगिक हवका रुपमा विकास गर्न यो प्रदर्शनी गर्न लागेको बताउनुभयो । बितेको चार महिनामा ४६० वर्ग फिट क्षेत्रफलमा औद्योगिक प्रदर्शनी स्थल निर्माण गरिएको छ ।  (रासस)

प्रतिक्रिया दिनुहोस्