धर्मराज श्रेष्ठ माउन्टेन बी कन्सर्न,मह हरेक मौसममा सेवन गर्दा शरीरलाई फाइदा हुन्छ । मह आफैँमा तातो वा चिसो हुँदैन । जस्तो पदार्थमा महलाई मिश्रण गर्यो, यसले त्यो पदार्थको गुणलाई बढाउने काम गर्छ । जाडो समयमा तातो दूधमा मिसाएर सेवन गर्दा दूधको तापक्रम बढाएर शरीरमा ताप उत्पन्न गराउँछ । त्यस्तै, गर्मीको समयमा पानीमा मिश्रण गरी सर्बत बनाइन्छ ।
यसो गर्दा शरीरलाई ठन्डा बनाउन मद्दत गर्छ । नेपालजस्तो वातावरणीय विविधता भएको मुलुकमा मह पनि धेरै प्रकारको पाइन्छ । भौगोलिक विविधताअनुसार नेपालमा पाइने महलाई लेकाली, पहाडी र तराई मह भनी छुट्याउन सकिन्छ । तर, आजभोलि केही व्यवसायीले धेरै पैसा कमाउने लोभमा महमा मिसावट गर्ने गरेको पनि सुन्नमा पाइन्छ । उपभोक्ताले मह किन्दा यस्ता कुरामा विचार पुर्याउन सके गुणस्तरीय मह खरिद गर्न सजिलो हुन्छः
गुणस्तरीय मह छुट्याउन
गुणस्तरीय मह पानीमा घुल्दैन । त्यसैले महको गुणस्तर परीक्षण गर्न सबैभन्दा पहिला पारदर्शी सिसाको गिलासमा पानी राख्नुहोस् । त्यसपछि महको एक थोपा त्यसमा मिसाइदिनुहोस् । थोपा मह जस्तो पानीमा खसालिएको छ, त्यही परिमाणमा पिँधसम्म पुग्नुपर्छ । यदि खसालिएको थोपा पानीमा घुल्दै पिँधसम्म पुग्दा कम परिमाणको देखिएको छ भने सो मह कम गुणस्तरको छ भन्ने थाहा हुन्छ ।
मह कुकुरले खाँदैन वा मन पराउँदैन भन्ने पनि मान्यता छ । त्यसैले मह कुकुरलाई खान दिएर पनि परीक्षण गर्न सकिन्छ । त्यसमा मिश्रण भएको रहेछ भने कुकुरले खान्छ । ज्यादै न्यून मात्रामा मात्र मिश्रण गरिएको रहेछ भने पनि कुकुरले मह खाँदैन ।(नयाँ पत्रिका)