नेपालको शानदार जित : पपुवा न्यूगिनी ६ विकेटले पराजित



काठमाडौं : आईसीसी विश्वकप छनोट अन्तर्गत एकदिवसीय मान्यताका लागि पपुवा न्यूगिनीसँगको खेलमा नेपालले शानदार जित दर्ता गरेको छ । टस जितेर पहिले फिल्डिङ गरेको नेपालले पपुवा न्यूगिनीमाथि सहज जित दर्ता गरेको हो । नेपालका लागि ओपनर ब्याट्सम्यान सस्तैमा समेटिए । दोस्रो चरणका ब्याट्सम्यान दीपेन्द्र सिंह ऐरीले अर्धशतक पूरा गरे । उनले तीन छक्का र एक चौकाको मद्दतमा ५० रन पूरा गरे ।

पपुवा न्यूगिनीले दिएको ११५ रनको लक्ष्य नेपालले २३ ओभरमा चार विकेट गुमाएर पूरा गरेको हो । लक्ष्य पछ्याउने क्रममा नेपालका आरिफ शेख चौथो विकेटका रुपमा २० दशमलव ६ ओभरमा ४२ बलमा २६ रन बनाएर आउट भए । कप्तान पारस खड्का ६ दशमलव पाँच ओभरमा तेस्रो विकेटका रुपमा आउट भएका थिए । उनले १८ बलमा २० रन मात्र जोड्न सके।

नेपालका ओपनर ब्याट्सम्यान ज्ञानेन्द्र मल्ल तीन बलमा एक रन बनाएर आउट भए भने अनिल शाह नाै रनमा आउट भएका थिए । पपुवा न्यूगिनीलाई सस्तैमा समेट्न नेपालका सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले चारचार विकेट लिएका थिए भने सोमपाल कामी र करण केसीले एकएक विकेट लिए ।

आईसीसीको नियमअनुसार नेदरल्यान्ड्सबाहेक विश्वकप छनोट प्रतियोगितामा सहभागी एसोसिएट टोलीमध्ये शीर्ष तीनले सन् २०२२ सम्मका लागि एकदिवसीय टोलीको मान्यता पाउनेछन् । गत डिसेम्बरमा सम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग च्याम्पियनसिप जितेको हैसियतमा नेदरल्यान्ड्सले यसअघि नै एकदिवसीय टोलीको मान्यता पाइसकेको छ । यसैगरी सोसिएट टोलीमध्ये सुपर सिक्स चरणमा पुगिसकेका संयुक्त अरब इमिरेट्स (यूएई) र स्कटल्यान्डले पनि एक दिवसीय मान्यता पक्का गरिसकेका छन् ।

अब बाँकी रहेको एक स्थानका लागि सुपर सिक्स चरणमा पुग्न नसकेका नेपाल, हङकङ र पपुवा न्युगिनीले प्ले अफ खेलमार्फत आआफ्नो दाबेदारी प्रस्तुत गर्दैछन् । पहिलोपटक एकदिवसीय टोलीको मान्यता प्राप्त गर्न नेपाले बिहीबार हुने खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई हराइसकेको छ । पीएनजीविरुद्धको एक जितले नै पनि नेपाललाई आगामी चार वर्षका लागि एकदिवसीय टोलीको मान्यता दिलाउने सम्भावना छ । तर, त्यसका लागि बिहीबार नै हुने अर्को खेलमा नेदरल्यान्ड्सले हङकङलाई पराजित गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्