काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस नेता गगन थापालाई जवाफ दिएका छन्। आइतबारको संसद बैठकमा थापाले प्रधानमन्त्रीमाथि विगतमा फाटेको धोती लाउनेको मन मधेसकेन्द्रीत दलबाट मत पाउँदैमा नजोडिने टिप्पणी गरेपछि ओलीले संविधान अपरिवर्तनीय नभएको र आफू संशोधनका लागि तयार रहेको बताए।
‘धोती लाउनेले बिर्सेको छैन भनेर सम्झाउन खोजियो होला’, उनले भने– ‘मैले बारम्बार भन्ने गरेको छु, संविधान अपरिवर्तनीय होइन, कुनै हालतमा संशोधन गर्दैन भनेर हल्ला फैलाइयो। औचित्य र आवश्यकताका आधारमा संविधान संशोधन हुनसक्छ।’
हिजो संविधान निर्माणका क्रममा दबाब केन्द्रले आफ्नो स्वार्थ अनुकुल बनाउन दबाब दिएको स्मरण गर्दै भने– संशोधनमा स्वार्थ हुनसक्छ। आफ्नो आफ्नो स्वार्थ होला। देशमा यत्रो लडाई भएर शान्ति त आइसक्यो। हिजोको कुरा बिर्सेको छ भन्या छ। लडाइ त सिध्सिक्यो। संविधान परिवर्तनीय र गतिशील दस्तावेज हो। संशोधन हुन्छ।’
थापाको खबरदारी गर्छाै भन्ने भनाईमा टिप्पणी गर्दै थपे– ‘ओलीले नाजायज काम गर्यो भने कुनै खबरदारी नगर्नुस भन्ने कुरा होइन। दुई तिहाई मत दम्भका लागि होइन देश एकजुट छ भन्ने सन्देश जनता र विश्लाई दिनका लागि हो।’
तपाई एमालेको मात्रै प्रधानमन्त्री होइन देशकै हो भन्ने थापाको टिप्पणीमा जवाफ दिँदै ओलीले भने– ‘प्रधानमन्त्री नेकपा एमालेको होइन, माओवादीको होइन, नेपालको हो। त्यस हिसाबले काम गर्छु। एमाले र माओवादीले त जिम्मेवारीमा पठाएको हो, त्यसका लागि मात्रै काम गर्ने भन्ने होइन।’ (नागरिक न्युज)