बाबुरामलाई प्रचण्डले भने – ‘मूल घरमा फर्किनुस्’



माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी आन्दोलनको मूल प्रवाहबाट बाहिरिएका सबै शक्ति र समूहलाई एकतामा आउन पुनः आग्रह गरेका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडमा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताको भावना र चाहना मुताबिक पार्टी एकताको प्रक्रियामा सहभागी हुन आह्वान गरेका हुन् ।

उनले कम्युनिस्ट आदर्श र विचार नै छाडेर नयाँ शक्ति नेपाल निर्माण गरेका डा बाबुराम भट्टराईलाई पनि समयको मागअनुसार पुनः मूल घरमा फर्कन आग्रह गरे ।

अध्यक्ष दाहालले भने, ‘शहीद, बेपत्ता, घाइते योद्धा, नेता तथा कार्यकर्ताको भावनालाई सम्बोधन गर्दै एकता प्रक्रियामा आउनुस् । बिग्रिएको केही छैन । एकतामा आउनुस् । मिलेर समाजवादको यात्रा तय गरौँ ।’ उनले मोहन वैद्य र नेत्रविक्रम चन्दलाई समेत एकतामा आउन आग्रह गरे । संविधानले समृद्धिको मार्ग प्रशस्त गरेकाले सोहीअनुसार अगाडि बढ्नुपर्ने उनको भनाइ थियो ।

नेपाली जनताले वाम गठबन्धनलाई सुविधाजनक बहुमत दिएकाले जनअ‍ेपक्षाअनुसार सरकारले काम गर्ने विश्वास पनि उनले दिलाए । कार्यक्रममा नयाँ शक्ति नेपाल गोरखाका जिल्लास्तरीय नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका थिए । नवप्रवेशीलाई अध्यक्ष दाहालले पार्टी प्रवेश गराएका हुन् । रासस

प्रतिक्रिया दिनुहोस्