अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको अहिलेसम्मकै ठूलो उपलब्धी (फोटो फिचर)



काठमाडौं : नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा अहिलेसम्मकै ठूलो उपलब्धी हात पारेको छ । नेपालले पहिलोपटक आईसीसी एकदिवसीय टोलीको मान्यता पक्का गर्दै ५० ओभरको क्रिकेटमा ऐतिहासिक उपलब्धी हात पारेको हो । बिहीबार भएको खेलमा नेपालले पपुवा न्युगिनीलाई ६ विकेटले पराजित गर्दै एक दिवसीयको टोलीको मान्यता प्राप्त गर्ने बाटो खोलेको थियो ।

बिहीबार नै भएको अर्काे खेलमा नेदरल्यान्ड्सले हङकङलाई ४४ रनले पराजित गरेसँगै नेपालले एकदिवसीय टोलीको मान्यता पक्का गर्‍यो । हङकङले नेदरल्यान्ड्सलाई हराएको भए एकदिवसीय टोलीको मान्यता पक्का गर्न शनिबार हुने खेलमा नेपालले हङकङलाई हराउनु पर्ने हुन्थ्यो ।

नेपाली टोलीले आफ्नो २२ वर्षे अन्तर्राष्ट्रिय यात्रामा सन् २०२२ सम्मका लागि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को माथिल्लो स्थानको यात्रा पक्का गरेको हो । यससँगै नेपालले ११ वर्षपछि पुनः सेतो जर्सीमा चार दिवसीय इन्टरकन्टिनेन्टल कप पनि खेल्ने छ । इन्टरकन्टिनेन्टल कप ५० ओभरको क्रिकेटमा एसोसिएट टोलीहरुले खेल्ने आईसीसीको सबैभन्दा ठूलो प्रतियोगिता हो ।

नेपालले सन् २०१९ देखी सन् २०२१ सम्म हुने इन्टरकन्टिनेन्टल कपमा प्रतिस्पर्धा गर्नेछ । नेपालले यसअघि इन्टरकन्टिनेन्टल कपको सुरुवाती तीन संस्करणमा प्रतिस्पर्धा गरेको थियो । यद्यपि सन् २००६-०७ को प्रतियोगितापछि भने नेपाल असफल बन्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्