जनता आवास कार्यक्रमअन्तर्गत मकवानपुरका पाँच सय चेपाङ परिवारका लागि पक्की घर निर्माण हुने भएको छ । मकवानपुरका चार गाउँपालिका र एक उपमहानगरमा बसोवास गर्दै आएका उनीहरूलाई आर्थिक वर्ष ०७४/०७५ मा घर निर्माण गर्न लागेको हो ।
जिल्ला समन्वय समिति बिहीबार सम्पन्न बैठकले चेपाङहरूका लागि पक्की घर निर्माण गर्ने निर्णय गरेको हो । स्थानीय तहका प्रमुख र वडाध्यक्षको सिफारिसका आधार लाभग्राही चेपाङको नाम छनोट गरेको समिति संयोजक एवं प्रजिअ चक्रबहादुर बूढाले बताए ।
‘चेपाङ संघ मकवानपुर र स्थानीय तहका जनप्रतिनिधिको लिखित सिफारिसका आधारमा लाभग्राही चेपाङको नाम छनोट गरिएको हो,’ उनले भने ।
कहाँ–कति घर बन्दै छन् ?
कैलाश गाउँपालिकाका कालिकाटारमा ४०, नामटारमा २०, डाँडाखर्कमा १०, भार्तामा ४०, राक्सिराङ गाउँपालिकाको राक्सिराङमा ७०, काँकडामा ८२, सरिखेतमा ४०, खैराङमा ३० वटा चेपाङलाई पक्की घर बनाइने समन्वय समितिले जनाएको छ ।
भीमफेदी गाउँपालिकाका भैँसेमा १०, निबुवाटार ४ र भीमफेदीमा ११ वटा घर बन्नेछन् । मनहरि गाउँपालिकाको मनहरिमा ४५ र हाँडीखोलामा ४० परिवारलाई पक्की घर बनाइनेछ ।
‘हेटौँडा उपमहानगरको हर्नामाडीमा २, बसामाडीमा २० र चुरियामाईमा १६ गरी ५ सय पक्की घर चेपाङ समुदायलाई बनाइनेछ,’ भवन प्रविधि अनुसन्धान तथा तालिम केन्द्र हेटौँडा प्रमुख सुदीप आचार्यले बताए ।
१७ करोड ५० लाख विनियोजन
जनता आवास कार्यक्रम मकवानपुरमा ८ वर्षअघि सुरु भएको हो । विगतमा एउटा पक्की घर बनाउन एक लाख ८२ हजार रुपैयाँ सरकारले उपलब्ध गराउने गरेको थियो भने हाल ३ लाख ५० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ ।
पाँच सय घर बनाउन सरकारले भवनप्रविधि अनुसन्धान तथा तालिम केन्द्र हेटौँडालाई १७ करोड ५० लाख उपलब्ध गराएको छ ।
कार्यक्रमअन्तर्गत ८ वर्षमा जम्मा ५ सय २२ वटामात्र पक्की घर बनेका थिए । प्रजिअ बूढाले चालू आव ०७४/०७५ मा ५ सय घर बनाउन बजेट विनियोजन भएको जानकारी दिए ।
मकवानपुरका ४ गाउँपालिका र एक उपमहानगरमा ४ हजार ६ सय ४५ चेपाङ समुदायको बसोवास रहेको चेपाङ संघका अध्यक्ष खेम चेपाङले बताए । (नयाँ पत्रिका)