पाकिस्तानमा नेतामाथि जुत्ता किन ?



पछिल्ला केही दिनमा यो तेस्रो घटना हो । पहिलो जुत्ता गृहमन्त्री एहसन इकबालमाथि आफ्नै गृहनगर नारोवालमा आफ्ना पार्टीका समर्थकसित कुराकानी गर्दै गर्दा प्रहार गरिएको थियो । दोस्रो घटना विदेशमन्त्री ख्वाजा मोहम्मद आसिफका साथमा घट्यो, जब एक पुरुषले ख्वाजा साहेबको आफ्नै निर्वाचन क्षेत्र सियालकोटमा उनको अनुहारमा मोसो प्रहार गरे । र, फेरि मुस्लिम लिग (एन) का नेता नवाज सरिफमाथि उनको आफ्नै लाहोरमा एक धार्मिक मदरसामा जुत्ता प्रहार गरियो ।

तमाम ठूला राजनीतिक दल र मिडियाले यस्ता क्रियाकलापको कडा शब्दमा निन्दा गरेका छन् । यसलाई एउटा अत्यन्त सकारात्मक विषयका रूपमा लिनुपर्छ । उनीहरूले यस्ता घटनालाई राजनीतिक संस्कृतिको अपमान बताउँदै यसलाई फैलन रोक्नुपर्नेमा जोड दिएका छन् ।

आक्रमणकारी सबै एकै पार्टीका
तीनवटै घटनामा संलग्न भएको आरोपमा जोजो मानिस पक्राउमा परेका छन्, उनीहरूको संलग्नता मौलाना खादिम हुसेन रिजबीको धार्मिक पार्टी लब्बेक या रसुल अल्लाहसित जोडिएको बताइँदै छ । यस पार्टीले पछिल्लो वर्ष इस्लामाबादमा तीन साता धर्ना दिएर राजधानीलाई अस्वीकार गरिदिएको थियो । र, फेरि सेनाका तर्फबाट गरिएको मेलमिलापको कोसिसपछि सो धर्ना अन्त्य भएको थियो । एक अधिकृतले धर्नामा सहभागी लब्बेकका कैयौँ समर्थकको फिर्तीका लागि हजार–हजारका नोट क्यामेरासामु नै बाँडेका थिए ।

नवाज सरिफको पार्टीसित आफ्नो घृणा दर्साउन जुत्ता प्रहार गर्ने तरिका धार्मिक पार्टीका जोसिला कार्यकर्ताको आफ्नै जोसका कारण पनि हुन सक्छ । उसो त लब्बेक पार्टी गभर्नर पञ्जाब सलमान तासिरलाई धर्मको अपमानको शंकामा हत्या गर्ने प्रहरी मुमताज कादरीको फाँसीबाट पैदा भएको हो । फाँसीको जयाय त सर्वोच्च अदालतले दिएको थियो । तर, लब्बेक समर्थकलाई यसको जिम्मेवार नवाज सरिफ नेतृत्वको सरकार नै भएको विश्वास दिलाइएको थियो ।

कोही पनि व्यक्ति तमाम सुरक्षा बन्दोबस्ती हुँदाहुँदै पनि कुनै पनि नेताको चार फिट नजिक आएर आरामसित जुत्ता प्रहार गर्न सक्छ या अनुहारमा मोसो फ्याँक्न सक्छ भने उसले गोली पनि त प्रहार गर्न सक्छ । त्यस्तो भयो भने के होला ?

हेलिकोप्टरमाथि पनि जुत्ता प्रहार
मुमताज कादरीको फाँसीपछि जब लब्बेक समर्थकले इस्लामाबादमा संसद् भवनअघि पहिलो धर्ना दिएको थियो । त्यतिखेर उनीहरूले आफ्नो टाउकोमाथि प्रहरीको हेलिकोप्टर उडेको देखेपछि त्यसतर्फ पनि सयौँ जुत्ता प्रहार गरिएका थिए । लब्बेक पार्टी, जसको नेतृत्वको सम्बन्ध मुसलमानको बरेलवी समुदायसित छ, पञ्जाबमा नवाज सरिफको बरेलवी भोट बैंकलाई तोड्ने अपेक्षा थियो । त्यसैले, उसलाई निर्वाचन आयोगबाट अत्यन्तै छिटो रजिस्ट्रेसन पनि दिइएको थियो ।

कैयौँ उपनिर्वाचनमा लब्बेक पार्टीले केही भोट पनि पायो, तर यी भोट नवाज सरिफदेखि मन दुखेका मतदाताको मात्र थिएन, हरेक पार्टीका भोट लब्बेकका उम्मेदवारले काटेका थिए । आज जुन जुत्ता प्रहारको नयाँ सिलसिला सुरु भएको छ, यो रोकिएन भने हरेक नेताले आफ्नो शिरको चिन्ता गर्नुपर्नेछ।

त्यसो त निर्वाचनको मैदान गरम हुन गइरहेको छ । तर, मलाई भने एउटा अर्कै टेन्सन छ । कोही पनि व्यक्ति तमाम सुरक्षा बन्दोबस्ती हुँदाहुँदै पनि कुनै पनि नेताको चार फिट नजिक आएर आरामसित जुत्ता प्रहार गर्न सक्छ या अनुहारमा मोसो फ्याँक्न सक्छ भने उसले गोली पनि त प्रहार गर्न सक्छ । त्यस्तो भयो भने के होला ?

(पाकिस्तानबाट बिबिसी हिन्दीका लागि)
बिबिसी डट कम/हिन्दीबाट

प्रतिक्रिया दिनुहोस्