एकपटक एक महिलाले प्रसिद्ध नाटककार जर्ज बर्नार्ड सालाई रात्रिभोजमा आमन्त्रण गरिन् । सा निकै व्यस्त थिए । तैपनि, उनले ती महिलाको अनुरोध अस्वीकार गर्न सकेनन् ।
भोजको दिन सा अत्यन्तै व्यस्त थिए । त्यसैले मुस्किलले आफ्नो काम सिध्याएर हतारहतार सा ती महिलाकहाँ पुगे । उनी आएको देखेर ती महिला निकै खुसी भइन् । उनले साको स्वागत पनि गरिन् ।
तर, एकैछिनमा उनी खिन्न भइन् । किनकि, साले निकै सामान्य कपडा लगाएका थिए । उनले कामको चटारोले गर्दा लुगा फेर्न पनि भ्याएका थिएनन् ।
उनको सामान्य पहिरन देखेपछि ती महिलालाई गाडीमा घर गएर राम्रो कपडा बदलेर आउन अनुरोध गरिन् । साले पनि उनको कुरा खुरुक्क माने र घर गए । एकैछिनमा उनी निकै महँगो कपडा लगाएर भोजस्थलमा फर्किए । ती महिला पनि निकै खुसी भइन् ।
एकैछिनमा भोज सुरु भयो । मानिसहरू स्वादिष्ट व्यञ्जनको स्वाद लिन थाले । सा भने भोजका परिकारहरू जम्मा गरेर आफ्ना महँगा पोसाकमा दल्न थाले ।
साथै, उनी भन्दै थिए, ‘ल आज मनग्गे खाओ मेरा लुगा हो । आजको यो निम्तो मलाई होइन, तिमीहरूलाई आएको हो । त्यसैले संकोच नमानी पेटभरि खाओ ।’
लुगालाई सम्बोधन गर्दै उनी आफ्ना लुगामा खाना, तरकारी, अचार, मासु, आइसक्रिम, दही सबै दल्न थाले । उनको यस्तो हर्कत देख्दा पार्टीमा आएका मानिसहरू अचम्ममा परे ।
सबैले एक स्वरमा उनलाई प्रश्न गरे, ‘हैन, आखिर तपाईं यो सब किन गरिरहनुभएको छ ?’ उनले गम्भीर हुँदै उत्तर दिए, ‘आज यहाँ मलाई होइन, मेरा लुगालाई निमन्त्रणा गरिएको हो ।
त्यसैले म आफ्ना यी महँगा कपडालाई भोज खुवाइरहेको छु । साको कुरा सुनेपछि भोजस्थलमा उपस्थित मानिसले केही बोल्न सकेनन् ।
उनलाई भोजमा बोलाउने ती महिलाको अनुहार त झन् हेर्नलायक देखिएको थियो । उनले जीवनमा आफूले निकै ठूलो गल्ती गरेको महसुस गरिन् । साथै, व्यक्तिको मूल्यांकन कपडाले होइन, उसको क्षमताले गर्नुपर्दो रहेछ भन्ने पनि बुझिन् । (नयाँ पत्रिका)