उपसभामुखमा तुम्बाहाम्फे र भुसाल प्रतिस्पर्धी



काठमाडौँ — प्रतिनिधिसभाको उपसभामुख पदका लागि सत्तारूढ एमालेबाट शिवमाया तुम्बाहाम्फे तथा प्रमुख प्रतिपक्षी कांग्रेसबाट पुष्पा भुसालले उम्मेदवारी दिएका छन् । उपसभामुखको निर्वाचन शुक्रबार हुँदै छ ।

सभामुखमा माओवादी नेता कृष्णबहादुर महरा निर्वाचित भइसकेका छन् । सभामुख र उपसभामुख फरक लिंग र फरक दलको हुनुपर्ने कानुनी व्यवस्था छ । सभामुखमा पुरुष निर्वाचित भइसकेकाले उपसभामुखमा महिलाको मात्रै उम्मेदवारी परेको हो । वाम गठबन्धनमा आबद्ध एमाले र माओवादी केन्द्र एकता प्रक्रियामा रहेकाले उनीहरू एक भएपछि सभामुख र उपसभामुख एउटै दलको हुने भन्दै कांग्रेसले आफ्नो उम्मेदवारी दिएको हो । जबकि कांग्रेसले सभामुख पदमा उम्मेदवारी दिएको थिएन । प्रतिनिधिसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गरिसक्नुपर्ने कानुनी व्यवस्थाअनुसार निर्धारित समय सीमाभित्रै चुनाव हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्