मोरङ — रोनी र मनिष विश्वकर्मा दम्पतिले पहिलो सन्तान छोरी पाएपछि विराटनगर महानगरपालिकाले बधाईसहित ३ हजार नगद प्रदान गरी बुधबार पुरस्कृत गरेको छ । २३ बर्षीया रोनीले उक्त रकम ६ महिनाकी छोरी कृष्णा कुमारीको लागि बैंकमा खोलेको बचत खातामा राख्ने बताइन् ।
‘छोरी जन्मेको सुन्ने बित्तिकै समाजमा नाक खुम्च्याउने चलन छ,’ उनले भनिन्, ‘पुरस्कारले छोरीलाई हेर्ने सामाजिक दृष्टिकोणमा परिवर्तन ल्याउने विश्वास छ ।’ छोरीलाई हेला गर्ने समाजमा पुरस्कृत गरेर प्रोत्साहन गर्दा महिलाले सामाजिक विभेदबाट मुक्ती पाउने आश जागेको उनले सुनाईन् ।
विराटनगर १८ का २४ बर्षीया पुजादेवी साह र साजन कुमार साह दम्पतिलाई पनि महानगरले सम्मान गर्यो । उनीहरुले पुरस्कार रकम छोरी प्रेरणाको लागि बैंकमा बचत खाता खोलेर जम्मा गर्ने सुनाए । विराटनगर ३ का निता लुइँटेल र सागर काफ्ले दम्पतिलाई पनि पहिलो सन्तान छोरी जन्माएको भन्दै महानगर प्रमुख भीम पराजुली र उपप्रमुख इन्दिरा कार्कीले संयूक्त रुपमा बधाई दिदै तीन हजार नगदबाट पुरस्कृत गरे ।
उनीहरु जस्ता महानगरभित्र पहिलो सन्तान छोरी जन्माउने ३१ दम्पतिलाई नगद पुरस्कारसहित सम्मान गरियो । पुरस्कृत हुने बच्चाकी आमाले २० बर्ष उमेर पूरा गरेकी, गर्भधारण गरेदेखि नियमित स्वास्थ्य परीक्षण गराएकी, नेपाली नागरिकता प्राप्त गरेकी, स्वास्थ्य संस्थामा बच्चा जन्माएकी र बच्चा जन्मेको ३५ दिनभित्र जन्मदत्र्ता गराएका छन् । बधाई र पुरस्कार पाउनेहरुले उक्त ५ वटा सर्त पूरा गर्नुपर्ने महानगरले व्यवस्था गरेको छ ।
महानगरका उपप्रमुख कार्कीले छोरी बचाउ अभियानसँगसँगै बच्चाकी आमाको स्वास्थ्यलाई ख्याल गर्न सर्तहरु तोकिएको बताइन् । ‘पितृ सत्तात्मक राज्य व्यवस्थामा बुहारीलाई नागरिकता बनाउन गरिने ढिलासुस्ती र त्यसबाट उत्पन्न हुने विभिन्न खाले महिला हिंसा रोक्न पनि यो अभियानले मद्दत पुग्छ,’ उनले भनिन्, ‘यस अभियानले समयमा जन्मदर्ता भएपछि बच्चाले पहिचान प्राप्त गर्न सहज हुन्छ ।’
गर्भमा रहेको बच्चाको लिङ्ग पहिचान गरी गर्भ तुहाउने क्रम बढ्न थालेपछि पहिलो महानगरसभाले पहिलो सन्तान छोरी जन्माउनेलाई नगद तीन हजार प्रदान गरी छोरी बचाउ अभियानको घोषणा गरेको थियो ।
महानगर प्रमुख पराजुलीले समाजमा विद्यमान छोराछोरीबीचको विभेद अन्त्य गरी समतामूलक समाज स्थापना गर्न यस अभियानले सहयोग पुग्ने बताए । ‘छोरीप्रतिको नकारात्मक सोच परिवर्तन आवश्यक छ किनकी आफू पनि एउटी छोरी आमा भएपछि जन्म लिएको छु,’ उनले भने, ‘अहिलेका विद्वत समाजले समेत त्यही छोरी, आमालाई गर्भमा नै लिङ्ग पहिचान गरेर हत्या गर्ने घृणितकर्मलाई न्यूनीकरण गर्न यो अभियानको सुरुवात गरेका हौं ।’ यस अभियानले छोरीप्रतिको धारणामा परिवर्तन ल्याउन कोशेढुंगा सावित हुने विश्वास लिएको उनले बताए ।
‘कानुनले बर्जित गरेपनि प्रत्येक स्वास्थ्य संस्थामा गर्भ पहिचानको खेल भइरहेको छ,’ उनले भने, ‘यसका लागि पनि अब विशेष सुराकी खटाएर यस्तो कुकृत्य कामलाई रोक्ने योजना छ ।’
महानगरका सामाजिक विकास शाखा अधिकृत दशिलाल माझीले छोरी बचाउ अभिायनको घोषणा भएदेखि हालसम्म ३१ जनाले सबै प्रक्रिया पूरा गरेको जानकारी प्राप्त भएपछि पहिलो पटक पुरस्कृत गरिएको बताए ।