माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईलाई माउ पार्टीमा फर्किन बारम्बार आग्रह गरेको बताएका छन् ।
नयाँ शक्ति पार्टी छोडेर माओवादी केन्द्रमा प्रवेश गरेका १९ जना कार्यकर्तालाई स्वागत गर्दै बिहीवार पार्टी कार्यालय पेरिसडाँडामा अध्यक्ष दाहालले आफ्नो अनुरोध नमानेर भट्टराईले धेरै ठूलो गल्ती गरेको र पश्चाताप गरेर पार्टीमा नफर्केसम्म भट्टराईले ’स्वर्गमा पनि बास नपाउने’ टिप्पणी गरे ।
दाहालले भने, ‘हाम्रो त भनाइ बाबुरामजीहरु समेत यही जोडिन आइपुग्नुपर्छ । नत्र कुनै भविश्य हुँदैन । बाबुरामजीलाई बारम्बार भनेको छु, तपाईले गल्ती गर्नुभएको छ, ठूलो भूल गर्नुभाछ ।’ माउ पार्टीमा नफर्केसम्म भट्टराईलाई दुःख भइरहने उल्लेख गर्दै दाहालले भने, ‘पश्चाताप गरेर फर्किनुपर्ने हुन्छ । माथि जाने बेलामा आनन्दसँग जान पाइन्छ । नत्र पोलेको पोलेइ हुन्छ।’
कार्यक्रममा अध्यक्ष दाहालले विगतमा माओवादी, कम्युनिष्ट आन्दोलन र क्रान्तिका लागि काम गरेकाहरु एउटै केन्द्रमा आउनुको विकल्प नभएको भन्दै विप्लव समूहलाई पनि पार्टीमा फर्कन आह्वान गरेका थिए ।