काठमाडौं, २ चैत
नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक (एआइजी) राजेन्द्रसिंह भण्डारीले आज मात्रै प्रधानन्यायाधीश राजीनामा दिएका गोपाल पराजुलीलाई तत्काल जेल हाल्नु बताएका छन् ।
पराजुलीको राजीनामाबारे सामाजिक सञ्जाल फेसबुकमार्फत बिहीबार प्रतिक्रिया दिंदै उनले पराजुलीलाई न्यायालयको कालो धब्बाको रुपमा सम्झिइनेछ भनेका छन् । तर, उनीविरुद्ध लागेका आरोपहरु रद्द गरिन नहुने बताउँदै भण्डारीले लेखेका छन्, ‘उनको दोष प्रमाणित गर्नका लागि पर्याप्त र स्पष्ट प्रमाणहरु छन् ।’
सर्वाेच्चमा कान्तिपुरविरुद्ध परेको अवहेलना मुद्धा पराजुली आफैले सुनुवाई गरिरहेका थिए । न्यायाधीश चोलेन्द्र शमशेर जवराले बेञ्च वहिष्कार गरेपछि मुद्धाको पेशी अनिश्चितकालका लागि स्थगित भएको थियो ।
जन्ममितिलगायतका विवादमा तानिएका पराजुलीलाई बुधबार न्यायपरिषद्को सचिवस्तरीय निर्णयबाट पदमुक्त गरिएको थियो । उनले बिहीबार मात्र राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष राजीनामा बुझाएका छन् । जनताले पराजुलीलाई जेलमा देख्न चाहेको भण्डारीको प्रतिक्रिया छ । भण्डारी कान्तिपुर पब्लिकेशनका प्रबन्ध निर्देशक कैलाश सिरोहियाका साढुदाइ (निर्देशक स्वस्तिका सिरोहियाका भिनाजु) हुन् ।