गर्भ राख्दा नै छोरा या छोरी निश्चित गर्न सम्भव रहेको दाबी अझै हराएको छैन । गर्भको सन्तान गर्भ राख्ने दिनमै निश्चित गर्न सघाउन चिनिया क्यालेन्डर, जापानी क्यालेन्डर लगायतका धेरै क्यालेन्डर पछ्याउनेहरुको संख्या अझै उस्तै छ । के यो सम्भव विधि हो त ?
चिकित्साशास्त्रको अभ्यासमा संलग्नहरुको मतअनुसार गर्भको सन्तान छोरा या छोरी निश्चित गर्ने कुनै विधि छैन । प्रसूति गृह, थापाथलीका प्रसूति तथा स्त्रीरोग विशेषज्ञ प्राध्यापक डा. गेहनाथ बरालको तर्कअनुसार गर्भ बस्दा छोरा या छोरी के हुने त्यो चिठ्ठाजस्तै हो । आधुनिक चिकित्सा उपकरणको सहयोगमा गर्भ बसेको तीन महिनापछि गर्भमा रहेको सन्तानको लिंग पहिचान गर्न सम्भव छ तर गर्भ बसाउँदा नै छोरा या छोरी पाउने निक्र्यौल गर्न सम्भव भने छैन ।
यता ज्योतिषशास्त्रको अभ्यासमा संलग्नहरुको मत भिन्न छ । केही अन्तर्राष्ट्रिय अध्ययनले समेत निश्चित प्रक्रिया पछ्याउन सक्ने हो भने गर्भ राख्दाको समयमै आफूले चाहे अनुसारको भ्रूणको विकास गर्न सकिने देखाएको छ ।
ज्योतिषशास्त्री ऋषिराज घिमिरेको दाबीअनुसार जोर रात (६,८,१०,१२,१४,१६) मा गर्भ रह्यो भने छोरा जन्मिन्छ । बिजोर रातमा (७, ९, ११, १३, १५) मा गर्भ रह्यो भने छोरी हुन्छ । चिकित्साशास्त्रका अभ्यासकर्ता हुन् या ज्योतिषविधाका– दुवैको गणनाविधि भने महिलाको पिरियड टेबल नै हो ।
नेपाली चिकित्सकले असम्भव भने पनि सन् २००८ मा अक्सफोर्ड र एक्सटर विश्वविद्यालयका शोधकर्ताहरूले लिङ्ग छनोट सम्भव भएको पत्ता लगाएका थिए तर उनीहरुले यसका लागि जोर या विजोर समय भन्दा पनि महिलाले चयन गर्ने खानालाई मुख्य आधार बनाएका थिए ।
अध्ययनको निष्कर्ष थियो ‘बच्चा पाउने तयारी थाल्दाका अवस्थामा जसले बढीभन्दा बढी क्यालोरीयुक्त खान्कीमा जोड दिन्छ उसले छोरा पाउने सम्भावना बढी हुन्छ । जसले खाजा तथा खानेकुरामा कम ध्यान दिन्छ, उसले छोरी पाउने सम्भावना बढी हुन्छ ।’
डा. रीमा महर्जन र डा. ईशा श्रेष्ठको मतअनुसार गर्भमा विकसित हुने भ्रूण छोरा या छोरी भन्ने तय हुने प्रक्रिया प्राकृतिक हो । यी दुवै चिकित्सकको तर्कअनुसार पुरुषको शुक्रकिटबाट छोरा र छोरी छुट्टिने गर्छ ।
‘पुरुषको शुक्रकिटमा एक्स—वाई क्रोमोजोम हुन्छन् । महिलाको अण्डामा सधैँ एक्स—एक्स क्रोमोजोम मात्रै हुन्छन् । पुरुषको वाई क्रोमोजोम भएको शुक्रकिट गएर महिलाकोे एक्स क्रोमोजोम अण्डासँग मिल्योे भने छोरा हुन्छ । पुरुषको एक्स क्रोमोजोम गएर महिलाको एक्स क्रोमोजोम भएको अण्डासँग मिल्यो भने छोरी हुन्छ,’ दुवै चिकित्सकले भने ।
औँसीको समयमा गर्भ बसे छोरी र पूर्णिमाको समयमा गर्भ बस्दा छोरा जन्मिने तर्क पनि नसुनिएको हैन तर यो तर्कलाई चिकित्सक र ज्योतिष दुवैले अस्वीकार गरे ।
चिकित्सक गेहनाथ यसलाई अन्धविश्वास मात्रै भएको बताउँछन् । यसको वैज्ञानिक आधार नभएको भन्दै उनले भने, ‘कुन आसनमा यौन सम्पर्क भयो भने छोरा वा छोरी हुन्छ भन्ने वैज्ञानिक आधार छैन । यो ‘लट्री’ परेजस्तै हो ।’