हिजोआज न्यास्रो मेट्न सामाजिक सञ्जाल नै काफी छन् । उमेरदारले पार्टनर खोज्न मेला धाउनबाट मुक्ति पाएको वर्षौं भइसक्यो । हुँदाहुँदा अब मनसँगै तनको प्यास मेटाउनसमेत सामाजिक सञ्जाल सारथि बनिरहेका छन् । यही सेरोफेरोमा नेपालका सामाजिक सञ्जाल प्रयोगकर्तामाझ चढेको डेटिङ एप ‘टिन्डर’को बढ्दो ज्वरो र त्यसले निम्त्याएका सुखद्–दुःखद् पलबारे चियोचर्चो गरेका छन् अनिल यादवले ।
सेक्स पार्टनर खोज्न कहिले ठमेल, कहिले धरान त कहिलो पोखरा । जहाँ सम्भावना देख्थे काठमाडौं, बानेश्वरका रमेश पुडासैनी (नाम परिवर्तन) त्यहीँ पुग्थे । अकस्मात ६ महिनादेखि पार्टनरको खोजीमा उनको दौडधुप थामिएको छ । उनको बानी सुर्धिएको भने हैन । उस्तै छ । माध्यम भने फेरियो ।
पेसाले कपडा व्यापारी उनका लागि सहयोगी बन्यो प्रविधि । जसले प्रारम्भ गर्यो उसले साथी खोज्न सरल होस् भनेर मोबाइल डेटिङ एप ‘टिन्डर’ बनाए तर उनले यसैलाई सेक्स पार्टनर खोज्ने सारथि बनाइदिए । मोबाइल चलाएकै आधारमा रोजेजस्तो खोजेजस्तो पार्टनर भेटिने गरेको अनुभव सुनाउँछन् उनी ।
सुजता अधिकारी (नाम परिवर्तन) ‘सिरियस’ होइन, ‘क्याजुअल’ रिलेसनको चाहनामा थिइन् । यौन तृष्णा मेट्न युवाहरु त लुकीछिपी अड्डामा जान्छन् । युवती पार्टनर खोज्दै कता जानु ? एक मिडिया कम्पनीको मार्केटिङ विभागमा काम गरिरहेकी उनको रोजाई अलि क्रिटिकल छ । प्रेम नहोस्, मित्रता झनै नहोस् तर मस्त रोमान्स होस् । उनले पनि सारथि बनाइन् उही ‘टिन्डर’लाई ।
सन् २०१३ मा ‘डेटिङ/हुक–अप’ को खोजीमा रहेकालाई सघाउन एक युवा समूहले स्वाइप प्रविधिमा आधारित मोबाइल एप निकाले टिन्डर । यसका प्रयोगकर्ताले भने यसैलाई ‘वन नाइट स्ट्यान्ड’को सारथि बनाइदिए । विश्वका अधिकांश देशमा लोकप्रिय बन्दै गइरहेको यो एप्सका प्रयोगकर्ताको प्रवृत्ति नेपालमा मात्रै यस्तो हैन । अधिकांश प्रयोगकर्ताको लक्ष्य एकै देखिन्छ ‘मिट, इन्जोए एन्ड फर्गेट ।’
नेपालमा भर्खरै लोकप्रिय बन्दै गएको यो एप्सको युरोपेली मुलुकमा बाक्लो प्रयोग भइरहेको छ । छिमेकी मुलुक भारतमै पनि ‘टिन्डर’ जस्ता डेटिङ एप्सबारे खुलेरै संवाद सुरु भइसक्यो । युट्युबमा यसका प्रशस्तै सामग्री भेटिन्छन् तर नेपालमा यस एपबारे खुलेर संवाद सुरु भइसकेको छैन । युवामाझ भने भुसको आगोझैँ फुसफुसमै लोकप्रिय बनिसक्यो । आखिर यसका नेपाली प्रयोगकर्ताहरु कस्ता छन् ? अनि उनीहरुको उद्देश्य के रहेछ भनेर शुक्रबारकर्मीले खोजी गर्दा पुडासैनी र अधिकारी फेला परेका हुन् ।
एक साता लामो अध्ययनमा ५० ‘टिन्डर’ प्रयोगकर्ता भेटिए । गोप्यताको ग्यारेन्टी गरेपछि उनीहरु यसबारे बोल्न राजी भए । डिजिटल डिभाइसको प्रयोग गरेर रोमान्स गर्ने तैपनि गोप्यता किन त ? धेरैको जवाफ थियो– ‘दिस इज अल अबाउट प्राइभेसी (यो सबै गोपनीयताको कुरा हो) ।’