चर्चाका लागि प्रेसमिटमा बिकिनी



यतिबेला फिल्मकर्मीका लागि चर्चा कमाउने ठूलो हतियार बनेको छ– बिकिनी । खबरमा आउनु छ भने अरु केही गर्नु पर्दैन, बस् बिकिनी लगाएको तस्बिर फेसबुकमा पोस्टिदिए पुग्छ । विभिन्न शीर्षक र टिप्पणीसहित खबर तत्काल ‘भाइरल’ भइहाल्छ ।

फिल्म ‘रोमियो एन्ड मुना’को प्रेस मिटमा विनयले बिकिनी लगाएका दुई युवतीलाई खडा गर्नुको मूलः उद्देश्य पनि चर्चा कमाउनु नै थियो । नेपाली फिल्मकै इतिहासमा यसअघि कसैले यसरी प्रेस मिट गरेको थिएन । यस्तो जाडोमा मान्छेहरु स्विमिङ पुलमा स्विमिङ सुट लगाएर पौडी खेल्न त गाह्रो मान्छन्, उनले प्रेस मिटमै ‘विकिनी गल्र्स’लाई उभ्याइदिए, यो चानचुने कुरा होइन । त्यस दिन रिलिज भएको ‘स्यान्डविच’ बोलको गीतभित्र पनि बिकिनीको दृश्य थियो । गीतको थिमअनुसार नै त्यसरी फरक ढंगले प्रेस मिट गरिएको तर्क विनयले पेस गरेका थिए ।

विनयको यो फरक खालको प्रचार शैली फिल्मवृत्तमा ठूलो चर्चाको विषय बन्यो, चर्चा अझै सेलाएको छैन । यो उनका लागि सफलता नै हुनसक्छ । तर, थुप्रै फिल्मकर्मीले यसको खुलेर विरोध गरेका छन् । हास्यअभिनेता जितु नेपालले त आफ्नो गुनासो फेसबुकमै सार्वजनिक गरिदिए, ‘बिकिनीमा बिक्न खोज्नु र बिकिनी बिकाउनतिर लाग्नु नेपाली चलचित्रको लागि दुर्भाग्य हो । यो हाम्रो संस्कार होइन, संस्कृति पनि होइन । हो, आफ्नो छुट्टै पहिचान बनाउनु पर्छ, अरू भन्दा फरक पनि हुनुपर्छ तर यसका लागि नाङ्गा तरूनी चाहिँदैन । यो समय भनेको नेपाली चलचित्रका लागि सिक्ने समय हो, बिकिनी बेच्ने समय होइनजस्तो लाग्छ । विनयजी जस्तो एक असल कलाकार र निर्माताजस्तो जिम्मेवार व्यक्ति यसरी प्रस्तुत नहुनुपर्ने हो । भोलि के मामाघर–ससुराली जाँदा पनि यसरी नै इन्ट्री मार्ने त ?’

लामो समयदेखि फिल्म पत्रकारिता गर्दै आएका पत्रकार डब्बु क्षेत्रीले त प्रेस मिटमा बिकिनी लगाएका युवतीसँग विनय अंकमाल गर्दै उपस्थित हुँदा विशेषतः महिला पत्रकारहरुले आँखा छोप्नुपरेको टिप्पणी गरे । ‘फिल्मको गीतमा बिकिनी लगाएको दृश्य भएकाले यसो गरिएको हो भन्ने निर्माण पक्षबाट जवाफ आयो,’ उनले फेसबुकमै विरोध गरे, ‘यस्तै हो भने भोलि फिल्ममा बेडसिन छ भन्दैमा पत्रकार सम्मेलनमा पनि बेडसिन गरेर देखाए भने के गर्ने ? कृपया पत्रकार सम्मेलनमा प्रस्तुत हुँदा लोकलाजको पनि ख्याल राख्ने पो हो कि ?’

धेरैलाई थाहा भएकै हो, जब–जब अभिनेत्री सुष्मा कार्कीलाई चर्चाको ‘भोक’ लाग्छ, उनी अनेक ‘तमासा’ गर्न तयार हुन्छिन् । फिल्म क्षेत्रमा अहिले उनको उपस्थिति शून्यजस्तै छ । जानकारहरुको दाबी छ, ‘उनका लागि कोही पनि निर्माता फिल्ममा पैसा खन्याउन तयार छैनन् ।’ देखिएको पनि त्यस्तै छ । उनले कुनै फिल्म साइन गरेको खबर सुनिएको छैन । कुनै बेला प्रायः मिडियाको खबर र गसिपमा छाइरहने सुष्मालाई पछिल्लो समय आफू चर्चाबाहिर भएको महसुस भएर होला, उनले गएको मंसिरमा एउटा पाँचतारे होटलको स्विमिङ पुलमा बिकिनी लगाएर खिचेका पोजपोजका तस्बिर फेसबुकमा राखिन् । नभन्दै सुष्मा पुनः चम्किइन् । ‘स्विमुङ पुलमा सुष्माको बिकिनी अवतार’ जस्ता शीर्षकमा उनको बिकिनीले जताततै स्थान पायो ।

सुष्मा मात्रै होइन, थुप्रै अभिनेत्रीहरु बिकिनीका कारण चर्चामा आएका छन् । साम्राज्ञीराज्य लक्ष्मी शाह पछिल्लो समयकी लोकप्रिय अभिनेत्री हुन् । उनलाई चर्चामा आइरहन बिकिनी लगाएको तस्बिर फेसबुकमा पोस्ट गर्नुपर्ने आवश्यकता छैन । तैपनि केही साताअघि उनले अस्ट्रेलियाको समुन्द्रमा ‘टु पिस’ पहिरन लगाएको फोटो सामाजिक सञ्जालमा हालिन् र मिडियामा छाइन् । साम्राज्ञी तिनै हिरोइन हुन्, जसले आफ्नो पहिलो फिल्म ‘ड्रिम्स’ ताका ‘ब्याक ओपन’ भएको एउटा दृश्य फिल्मबाट हटाउन निर्देशक भुवन केसीलाई दबाब दिएको चर्चा चलेको थियो । खैर, पहिले जेसुकै भएको होस्, साम्राज्ञी अहिले पूरै परिवर्तन भइसकेकी छन् । कहिले विकिनी पोज, कहिले प्रेमीसँगको तस्बिर या प्रधानमन्त्रीले राखेको चियपानमा नाइटोको मुन्द्रा देखिने पहिरन लगाएर भए पनि खबरमा भने उनी छाइरहेकी छन् ।

केही महिनाअघि अभिनेत्री पूजा शर्माले थाइल्यान्डको समुन्द्रमा बिकिनी लगाएर खिचेको तस्बिरले पनि मिडियामा चर्चा पाएको थियो । उनले त्यतिबेला बिकिनीलाई लिएर रोचक स्पष्टीकरण पनि दिएकी थिइन्, ‘मलाई त्यो बिकिनी साथीले गिफ्ट दिएको हो । त्यो स्विमिङ सुट थियो जुन स्विमिङ गर्न जाँदा, समुन्द्रतिर जाँदा लगाउने चिज नै हो । म मन्दिरमा जाँदा त लाउँदिन नि ! होइन र ?’ (शुक्रबार)

प्रतिक्रिया दिनुहोस्