रत्नपार्क ! यौनकर्मीको सदाबहार स्पट



भनिरहनु नपर्ला, राजधानीको परिचित र व्यस्त ठाउँ हो– रत्नपार्क । पार्कको नाम फेरिएको धेरै भइसक्यो तर यसको चरित्र अझै उस्तै छ । पहिले पार्कभित्र हुने ‘सेक्स डिल’ अहिले ‘बाहिरै’ भइरहेको हुन्छ । रत्नपार्क क्षेत्र अहिले ‘सदाबहार सेक्स स्पट’का रुपमा परिचित हुँदैछ । यसको बदनाम चरित्रका कारण त्यहाँ ओहोरदोहोर गर्ने सर्वसाधारणले समेत सास्ती खेप्नुपरिरहेको छ । उपेन्द्र खड्गा र पुष्पा थपलियाले रत्नपार्क क्षेत्रमा हुने विभिन्न तमासा नियालेर तयार पारेको रिपोर्ट ।

‘नयाँ–नौलो केटी यहाँ देख्नै हुँदैन, ‘जाने हो ?’ भनेर सोधिहाल्छन्,’ करिब १० वर्षदेखि काठमाडौंको रत्नपार्क क्षेत्रमा स्क्रब (ढाड कन्याउने) बेच्दै हिँड्ने लक्ष्मण केसीको अनुभव हो यो ।

दुई साता अघिदेखि यहाँ चटपटेको व्यापार थालेका किशोरको अनुभव पनि लक्ष्मणभन्दा भिन्न छैन । सोमबार दिउँसो रिपोर्टिङका क्रममा भेटिएका उनी भन्दै थिए, ‘दिउँसोभन्दा पनि बेलुका यहाँ तमासा हुन्छ । एकछिन यहाँ बस्नुभयो भने तपाईंलाई नै ‘जाने हो?’ भन्न बेर छैन ।’

काठमाडौंको परिचित ठाउँ हो– रत्नपार्क । पुराना मात्रै होइन, दिनहुँ गाउँबाट राजधानी छिर्ने नयाँ–नयाँ अनुहार यहाँ फेला पर्छन् । कामबाट फर्किएका यात्रुहरुका लागि बस चढ्ने स्थल यही हो । सस्तो मूल्यमा किनमेल गर्न चाहने निम्नवर्गका मान्छेहरुको बजार पनि हो यो । नाउँमा रत्नपार्क भनिए पनि यसको परिचय थुप्रै छन् तर खास नाउँ त अर्कै छ– बदनाम पार्क ।

२०२१ सालमा तत्कालीन राजा महेन्द्रले रानी रत्नको नाममा निर्माण गरिदिएको यो पार्क लामो समय अव्यवस्थित रह्यो । २०७१ साल वैशाखमा काठमाडौं महानगरपालिकाले अव्यवस्थित रत्नपार्कलाई व्यवस्थित गर्ने हेतुले पूर्ण रुपमा बन्द ग¥यो । २०७१ मंसिरमा सम्पन्न सार्क शिखर सम्मेलनलाई लक्षित गर्दै महानगरपालिकाले यसको पुनर्निर्माण गरेको थियो । झन्डै १५ महिना बन्द भएपछि खोलिएको रत्नपार्कको नामै अहिले बदलिएको छ– शंखधर उद्यान (पार्क) । करिब ४२ रोपनी जग्गाभित्र फैलिएको यो पार्कको भित्री स्वरुप पनि बदलिएको छ । सानो पोखरी, रक गार्डेन, पिङ, चिप्लेटी र स–साना विश्राम स्थल फेरिएका छन् तर अझै पनि यस क्षेत्रको चरित्र फेरिएको छैन । न माइक्रो र बसका सहयोगीले ‘रत्नपार्क, रत्नपार्क’ भन्न छाडेका छन्, न यहाँ चलिआएको यौन व्यवसाय रोकिएको छ । पहिला पार्कभित्र हुने काम अहिले बाहिर भइरहेको छ तर रोकिएको भने छैन । ‘यो त सदाबहार सेक्स स्टेसन हो,’ सोमबार साँझ रत्नपार्कमा यौनकर्मी खोज्दै हिँडिरहेका एक युवक भन्दै थिए, ‘मेरो घर मोरङ हो । म वर्र्षैपिच्छे काठमाडौं आउँदा यहाँ आएकै हुन्छु । यहाँको धन्दा सधैँ उस्तै हो, कहिल्यै सुध्रिएन । यतिसम्म कि यहाँ पाइने केही केटीहरु त दुइवर्षअघि आउँदा पनि यहीँ थिए, अहिले पनि यहीँ छन् ।’

भेष बदलेर धन्दा
प्रहरीका अनुसार पछिल्लो समय रत्नपार्क क्षेत्रमा धेरै युवकहरु साँझ भेष बदलेर हिँड्ने गरेका छन् । त्यसरी हिँड्ने कतिपय साँच्चिकै तेश्रोलिङ्गी यौनकर्मी हुन्छन् भने कतिपय विभिन्न उद्देश्य बोकेर भेष बदल्ने गर्छन् । केही हप्ताअघिको कुरा हो । महानगरीय प्रहरी वृत्त जनसेवाको प्रहरी टोलीले पर्स लुटेको अभियोगमा आफूलाई पिंकी श्रेष्ठ नाम बताउने एकजना तेश्रोलिङ्गीलाई समात्यो । देख्दा ठ्याक्कै युवतीजस्तै ती युवाको छातिको स्तन ठूलै देखिन्थ्यो । फेस ‘क्लिन सेभ’ गरिएको थियो । प्रहरीले उसलाई युवती भनेर महिला थुनेकै ठाउँमा थुन्यो । तर १० दिनपछि जब एक महिला ‘मेरो श्रीमान् खोई ?’ भन्दै आइपुगिन्, सिंगो प्रहरी वृत्त चकित बन्यो । ‘हामीलाई त केटीको नाम टिपाएको थियो, खासमा केटा पो रहेछ !’ महानगरीय प्रहरी वृत्त जनसेवाका प्रमुख डिएसपी मोहनकुमार थापाले सम्झिए, ‘केटो त दुई वर्ष विदेश पनि बसेको रहेछ । नागरिकता पनि केटाकै नाममा रहेछ । केटी बनेर लुट्न सजिलो हुन्छ र केटालाई छिट्टै जालमा पार्न सकिन्छ भन्ने सोचेर भेष बदलेको रहेछ ।’

सदाबहार यौन बजार
रत्नपार्कको मुखैअघि महानगरीय प्रहरी आयुक्तको कार्यालय छ । तीन वटा वृत्तका प्रहरी यस क्षेत्रमा दिनहुँ गस्ती गर्छन् । जनसेवा वृत्तले रत्नपार्क क्षेत्र, सिहंदरबार वृत्तले रणोद्दीप पुलदेखि भृकृटीमण्डप (रत्नपार्कको बीच रोडसम्म) क्षेत्र र दरबारमार्गले रणोद्दीप पुलको आधा भाग हुँदै त्रिचन्द्र, रानीपोखरी घण्टाघर लगायतका क्षेत्र हेर्छ । तैपनि यो क्षेत्रले आफ्नो परिचय बदल्न सकेको छैन । थुप्रै ठाउँमा यौनधन्दा बन्द भए तर यहाँ हुन सकेन । पहिले पार्कभित्रै खुलेआम अश्लील हर्कत र सेक्स डिल हुन्थे तर पार्क पुनःनिर्माणपछि यो धन्दा पार्कवरिपरि चौतर्फी (पार्क बाहिर) सरेको छ । यस क्षेत्रले आफ्नो परिचयलाई बदल्नुको सट्टा झन् फैलाउँदै छ– सदाबहार यौनबजारका रुपमा । शनिबार, आइतबार र सोमबार तीनै दिन शुक्रबारकर्मी रत्नपार्क क्षेत्रमा पुग्दा दृश्य उस्तै देखियो, मात्रै पात्र फरक ।

देख्ने/भोग्नेहरु भन्छन्, ‘काठमाडौंको मुटु मानिने रत्नपार्क बिहान, दिउँसो र बेलुकी गरी तीन समय छेपारोले झैँ रङ फेर्छ ।’ हुन पनि हो । यो क्षेत्र बिहान शान्त, दिउँसो भद्र, साँझ व्यस्त र राति बढी उत्तेजक देखिन्छ । आइतबारको दृश्य पनि त्यस्तै थियो । पार्क वरिपरि पसल फिँजाएकाहरु आफ्नो सामान बेच्न तल्लिन थिए, यौनकर्मीहरु भने ग्राहक खोज्न । दृश्य केही नयाँ थिएन । पहिलेझै तेश्रोलिङ्गी र महिला यौनकर्मी ग्राहकसँग मोलमोलाइमा व्यस्त थिए ।

करिब साढे सात बजेको थियो । संवाददाता रातो रङको साइड ब्याग भिर्दै कुर्ता–सुरुवालमा सजिएर पार्कको फलामे बारमा अडेस लागिरहेकी एक युवतीको छेउमा पुग्यो । छेउमा नपुग्दै ती युवतीले आँखा सन्काउँदै सोधिहालिन्, ‘जाने हो ?’ त्यसपछि संवाद सुरु भइहाल्यो ।
‘कति पैसा हो ?’
‘दुई हजार ।’
‘अलि महँगो भएन र ?’
‘कोठा भाडासहित १५ सयमा जाने हो त ?’
‘जानेचाहिँ कहाँ हो ?’
‘वीर हस्पिटल पछाडिको लजमा ।’

त्यसपछि संवाददाता ‘पछि भेटौँला’ भन्दै अघि बढे । उता ती युवती त्यत्तिकै सोधेको भन्दै अश्लील भाषामा गाली गरिरहेकी थिइन् । थुप्रै ग्राहक–यौनकर्मीबीच यस्तै संवाद सुनिन्थ्यो । कोही ‘डिल’ गरेर यौनकर्मीसँग जान्थे त कोही त्यत्तिकै जिस्काइरहेका भेटिन्थे । धेरैजसो संख्यामा तेश्रोलिङ्गी यौनकर्मीको उपस्थिति देखिन्थ्यो । उनीहरु ग्राहकलाई फकाउन अनेक हर्कत गरिरहेका हुन्थे । कतिपय टाउकोमा हेल्मेट लगाएर ‘डिल’ गरिरहेका थिए त कोही अनुहारमा ‘मास्क’ लगाएर । २० देखि ५० वर्ष उमेर समूहका ‘युवा–युवती’ त्यहाँ देखिन्थे ।

संवाददाताले भेटेका थुप्रै तेश्रोलिङ्गी यौनकर्मीले लाजिम्पाटको आफ्नै कोठामा लाने बताएका थिए भने महिला यौनकर्मीहरु होटल भनिरहेका थिए । एउटी स्कुटरवालीले त ठाडै प्रस्ताव राखिन्, ‘१३ सय देऊ । लाजिम्पाटमा कोठा छ, तिमीलाई यही स्कुटरमा लगेर फेरि यहीँ ल्याइदिन्छु ।’
रत्नपार्क क्षेत्रमा कति जति यौनकर्मी दिनहुँ भेटिएलान् ? त्यसको यकिन तथ्यांक त कसैसँग छैन् तर त्यहाँ लामो समयदेखि इयरफोन र हाते बत्तीको व्यापार गर्दै हिँड्ने चितवनका विक्रम थापाले करिब ४५ को संख्यामा यहाँ यौनकर्मी दैनिक ‘सेवा’मा जुट्ने बताए ।

प्रहरी वृत्त जनसेवाका डिएसपी मोहनकुमार थापाका अनुसार रत्नपार्क क्षेत्र पहिलेदेखि नै यौनकर्मीको ग्राहक खोज्ने ‘जक्सन’ हो । ‘यहाँबाट ग्राहक खोजेर उनीहरु आसपासका होटल, लाजिम्पाट तथा आफ्नो (सेक्स वर्करका) कोठामा लाने गर्छन्,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्