सिरियाबारे आस्तानामा त्रिदेशीय वार्ताहुने



काजकिस्तान, २ चैत

इरान, रुस र टर्कीका विदेशमन्त्रीहरुबीच सिरियाको विषयलाई लिएर काजकिस्तानको राजधानी आस्तानामा शुक्रबार त्रिदेशीय वार्ता सुरुहुने भएको छ ।

मस्को र तेहरानको समर्थन रहेको सिरियाली सरकारले दमासकसको बाहिरी इलाकामा अवस्थित पूर्वी गुटामा हवाई कारबाही गरेको एक महिनापछि यो छलफल हुन लागेको हो ।

सिरियाको राजधानी दमासकसको उपनगरको रुपमा रहेको गुटा सहरको पूर्वी भागमा जारी रहेको भयावह मानवीय अवस्था नै यस छलफलको प्रमुख एजेन्डाको रुपमा रहेको बताइएको छ ।

छलफलमा यी तीन देशका विदेशमन्त्रीहरु इरानका मोहमद जाभेद, रुसका सेर्गेइ लाभरोभ र टर्कीका मेभ्लुट चागुसोङ्लुको सहभागीता रहेको जनाइएको छ ।

रुसको विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा त्यहाँको स्थलगत अवस्था विचारणीय भएको र वार्ता नै सफलता र कठिनाइको सामनाका लागि उत्तम उपाय रहेको बताइएको छ ।

यस विदेशमन्त्री स्तरीय छलफलले इस्ताबुलमा आगामी अप्रिल ४ तारिखमा हुने तीन राष्ट्रका राष्ट्रपतिको वार्ताको लागि एक प्रकारको आधार बनाउने अनुमान गरिएको छ ।

काजकिस्तानको विदेश मन्त्रालयका प्रवक्ताले शुक्रबार अपरान्हतिरबाट तीन देशका विदेशमन्त्रीहरुको वार्ता सुरु हुने पुष्टि गरेको छ ।

सिरियामा सन् २०११ को मार्च १५ बाट त्यहाँका राष्ट्रपति बसर अल असादको विरोधमा सुरु भएको जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भयो ।

यहँको गृहयुद्धमा परी सो समयदेखि हालसम्म ३ लाख ४० हजार भन्दा बढी व्यक्तिको मृत्यु भईसकेको छ ।

हालैका हप्ताहरुमा पूर्वी गुटामा भएको हवाई कारबाहीमा करिब १ हजार २६० व्यक्तिको मृत्यु  भइसकेको छ । मृतकहरुमध्ये बालबालिका पनि धेरै छन् ।

राष्ट्रसंघीय अधिकारीहरुकाअनुसार मारिनेमा पाँच जनामा एकजना बालबालिका रहेका छन् ।

पूर्वी गुटामा गत फेबु्रअरी १८ बाट विद्रोहीलक्षित बमबारीमा परी बालबालिकासहित भीषण संख्यामा सर्वसाधारण मारिएका छन् ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले पूर्वी विद्रोहीको बलियो प्रभाव रहेको पूर्वी गुटा सहरमा खाद्य पदार्थलगायतका अत्यावश्यक सामाग्रीको कमी रहेको पृथ्वीकै सबैभन्दा ठूलो नर्क हो भएको संज्ञा दिनु भएको छ ।

सिरियाका राष्ट्रपति बसर अल असाद समर्थित सुरक्षा दलले भने पूर्वी गुटाको ७० प्रतिशत इलाका नियन्त्रणमा आएको र २० हजार सर्वसाधारण  गुटाबाट स्वतन्त्र भएका जनाकारी दिएको छ ।

सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले पनि सो जानकारी दिएको छ ।

काजगिस्तानाले सन् २०१७ को जनवरीबाट सिरियाको विषयलाई लिएर कैयौँ पटक वार्ताको आतिथ्य गर्दै आएको छ ।

यसमा इरान, रुस र टर्कीका उच्चस्तरीय व्यक्तित्वहरु र सिरियाली सरकार र विद्रोहीका प्रतिनिधिहरु समेत सहभागी हुदै पनि आएका छन् ।

संयुक्त राष्ट्रसंघ तथा अरु विदेशी समुदायले समेत सिरियामा शान्तिको स्थापनाका लागि गरेका प्रयासहरु सार्थक हुन सकिरहेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्