कर्णाली सम्भावना भएको प्रदेश



ललितपुर, २ चैत

प्रतिनिधिसभामा कर्णाली प्रदेशलाई प्रतिनिधित्व गर्ने संसद्, प्रदेशसभा सदस्य, प्रदेश सरकारका प्रतिनिधि र विज्ञले कर्णाली समस्या मात्रै नभएर सम्भावना भएको प्रदेश पनि भएको बताएका छन् ।

प्रदेश सरकारले यहाँ आज आयोजना गरेको ‘कर्णाली प्रदेशको विकास र समृद्धिको आधार’ विषयको कार्यक्रममा सहभागीले प्रदेशमा भएका स्रोतको प्रयोग गरेर विकासको बाटोमा अघि बढ्नुपर्ने विचार व्यक्त गरेका छन् ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सरकार अहिले योजना बनाउने चरणमा रहेको बताउनुभयो । काठमाडौँमा बसेको समयमा प्रतिनिधिसभा सदस्य र विज्ञका सल्लाह लिएर प्रदेश फर्कने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “प्रदेश फर्किएपछि नै थप र विस्तृत छलफल हुनेछ ।”

प्रमुख प्रतिपक्षी दल(नेपाली काँग्रेस) का नेता जीवनबहादुर शाहीले अहिलेसम्म कर्णालीमा नून र चामलका लागि राजनीति हुँदै आएकामा अब त्यो बदल्नुपर्नेमा जोड दिनुभयो ।

पूर्वमन्त्री जनार्दन शर्माले स्रोत र युवाशक्तिका कारण कर्णाली प्रदेश सम्भावनाको पर्याय बनेको बताउनुभयो । पूर्वमन्त्री खेमलाल कँडेलले यस्ता कार्यक्रमको आयोजना काठमाडौँ उपत्यकामा भन्दा सम्बन्धित प्रदेशमा नै हुनुपर्ने धारणा राख्नुभयो ।

माओवादी नेता शक्ति बस्नेतले नाम र राजधानी तोकेकाले कर्णाली सबैभन्दा प्रगतिशील प्रदेश भएको बताउनुभयो ।

कार्यक्रममा विज्ञ नन्दबहादुर सिंह, डा इन्दिरा पराजुली, योगेन्द्र शाही, डा दीपेन्द्र रोकाय, यज्ञनाथ शर्मालगायतले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । (रासस)

प्रतिक्रिया दिनुहोस्