पारसको कप्तानीमा क्रिकेटको छलाङ



काठमाडौँ: सन् १९९६ देखि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलका प्रतियोगितामा सहभागी नेपालले क्रिकेटबाट आफूलाई चिनाउन लामो समय कुर्नुपर्‍यो। नेपाली राष्ट्रिय क्रिकेट टिम सन् १९९६ देखि आईसीसी एसोसिएट सदस्य राष्ट्रको समूहमा रहँदै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइरहेको छ। बिहीबार नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा अहिलेसम्मकै ठूलो उपलब्धि हात पारेको छ। नेपालले पहिलोपटक आईसीसी एकदिवसीय टोलीको मान्यता पक्का गर्दै ५० ओभरको क्रिकेटमा ऐतिहासिक उपलब्धि हात पारेको हो।

बिहीबार नेपालले पपुवा न्युगिनीलाई ६ विकेटले पराजित गर्दै एकदिवसीय टोलीको मान्यता प्राप्त गर्ने बाटो खोलेको हो। बिहीबारकै अर्का खेलमा नेदरल्यान्ड्सले हङकङलाई ४४ रनले पराजित गरेसँगै नेपालले एकदिवसीय टोलीको मान्यता पक्का गरेको हो। हङकङले नेदरल्यान्ड्सलाई हराएको भए एकदिवसीय टोलीको मान्यता पक्का गर्न शनिबार हुने खेलमा नेपालले हङकङलाई हराउनुपर्ने हुन्थ्यो।

पारसको क्रिकेट यात्रा
नेपाली जनतामाझ छाप छाड्ने गरी नेपाली क्रिकेटको यात्रा सन् २००९ बाट सुरु भयो। त्यो बेला जब पारस खड्काले नेपाली क्रिकेट टिमको कप्तानी सम्हाले त्यो बेलादेखि नेपाली क्रिकेटले निरन्तर सफलताको खुड्किलो चढिरहेको छ।

३० वर्षमा हिँडिरहेका पारसले आफ्नो सम्पूर्ण समय नेपाली क्रिकेटको समृद्धिका लागि खर्चिरहेका छन्। जब उनको काँधमा नेपाली क्रिकेट टिमको कप्तानीको जिम्मेवारी दिइयो, त्यही बेलादेखि बेलाबखत बाहेक नेपाली क्रिकेट टोलीले निरन्तर सफलताको स्वाद चाखिरहेको छ।

डिभिजन ५ बाट थालिएको त्यो कठिन यात्रा पारसको कप्तानीमा बिहीबार वान डे मान्यतासम्म आइपुगेको छ। यु-१५ उमेर समूहबाट नेपाली टोलीमा परेका पारस नेपाली क्रिकेट इतिहासकै सबैभन्दा सफल कप्तान बनेका छन्। उनकै कप्तानीमा अब नेपालले चार वर्षका लागि वान डे स्टासको मान्यता पाएको छ।

पारसकै कप्तानीमा नेपालले डिभिजन ५ देखि अघि बढ्दै डिभिजन १ सम्म पुगेर बं‌गलादेशमा भएको टी-२० विश्वकप पनि खेलिसकेको छ। जिम्बाब्वेमा भएको विश्वकप छनोटमा सुपर सिक्समा नअटेको नेपाली टोलीले यसअघि निरन्तर हार सामना गर्नुपरिरहेको पपुवा न्यू गिनीलाई पराजित गर्दै वान डे मान्यता लिन सक्यो। नेदरल्यान्डले हङकङलाई पराजित गर्नु पनि नेपालका लागि फाइदाजनक भयो।

३० वर्षे कप्तान पारसले सन् २००२ मा यु-१५ एसिया कपमा पहिलोपटक नेपाली टोलीको सदस्यका रुपमा सहभागिता जनाएका थिए। त्यसपछि पारसले सन् २००४ मा बंगलादेशमा भएको यु-१९ विश्वकप क्रिकेटमा पहिलो पटक सहभागी हुने अवसर पाए।

अनि बने कप्तान

सन् २००५ मा पारस उपकप्तान बनेपछि यु-१९ क्रिकेट टिमले सन् २००६ मा श्रीलंकामा भएको आईसिसी यु-१९ विश्वकप प्लेट च्याम्पियनसिपमा सेमिफाइनलमा दक्षिण अफ्रिकालाई र फाइनलमा न्युजिल्याण्डलाई हराएको थियो।

त्यसपछि पारसको कप्तानी यात्रा सुरु भयो। उनले त्यही वर्ष भारतमा भएको यू-१७ एसिया कपमा कप्तानको भूमिका निर्वाह गरे। उनकै कप्तानीमा नेपाली क्रिकेट टोलीले यु-१९ विश्वकपको खेलमा क्रिकेटको वादशाह मानिने दक्षिण अफ्रिकालाई हारसको स्वाद चखाएको थियो।

राष्ट्रिय टोलीको यात्रा

पारसले सन् २००४ मै काठमाडौँमा भएको एसिसी इन्टरकन्टिनेन्टल कपमा मलेसियाविरुद्ध राष्ट्रिय टिममा ‘डेब्यू’ गरे। राष्ट्रिय टोलीमा डेब्यू गरेसँगै उनले कहिल्यै पछि फर्केर हेर्नुपरेको छैन। उनी निरन्तर सफलतातर्फ लम्किँदै गए भने नेपाली क्रिकेट टिमलाई पनि निरन्तर सफलताको सिँढीतर्फ डोर्‍याइरहे।

उनकै कप्तानीमा सफलताको सिँढी चढ्दै नेपाली क्रिकेट टिमले वान डे मान्यता पाउन सफल भएको छ। सन् २००७ मा मलेसियामा भएको एसीसी यु-१९ च्याम्पियनसिपदेखि पारसलाई कप्तानीको जिम्मेवारी पाए। कप्तानको जिम्मेवारी पाएलगत्तै उनी त्यही प्रतियोगिताको उत्कृष्ट खेलाडी भए। त्यही वर्ष पारसले ‘एसीसी इमर्जिङ प्लेयर अफ द इअर’ अवार्ड पनि जित्न सफल भए।

उमेर समूहबाटै निरन्तर सफलतातर्फ लम्किरहेका पारसले सन् २००७ मा कुवेतमा गरिएको एसीसी टी-२० कप क्रिकेट प्रतियोगिताबाट सिनियर टोलीको उपकप्तानको भूमिका पाए।

सुरु भयो विश्वकप यात्रा

पारसलाई सन् २००९ मा नेपाली सिनियर राष्ट्रिय टोलीको कप्तान बनाइयो। युएईमा खेलिएको एसिसी टी-२० ट्रफीदेखि पारसलाई राष्ट्रिय टोलीको कप्तान बनाइएको हो।

कप्तान भएको एक वर्षमै उनले नेपाली क्रिकेटलाई सफलता चखाउँदै सन् २०१० मा काठमाडौँमा सम्पन्न डिभिजन-५ मा नेपाल च्याम्पियन बनाउन सफल भए। त्यही प्रतियोगितासँगै नेपालीहरुमा क्रिकेटको क्रेज पनि चुलिँदै गयो। त्यो प्रतियोगिताको उपाधि जिताएसँगै नेपाली खेल प्रेमीमाझ उनको ख्याति चुलिँदै गयो।

डिभिजन ५ बाट सुरु भएको यात्रा ९ वर्षमा वान डे मान्यतासम्म पुग्दा पारसले जहिल्यै कप्तानी भूमिका निर्वाह गरेर कयौँ हारको अवस्थाबाट टिमलाई उद्धार गरे। सन् २०१२ मा मलेसियामा खेलाइएको डिभिजन ४ मा पनि पारसले आफ्नो कप्तानीमा नेपाललाई च्याम्पियन बनाए। पारसकै कप्तानीमा त्यही वर्ष नेपाली क्रिकेट टोलीले एसिसी ट्रफी इलाइटको उपाधि पनि उचाल्यो। त्यो प्रतियोगितामा पारस प्लेयर अफ द सिरिज घोषित भए।

त्यसपछि सन् २०१३ मा बर्मुडामा नेपाली क्रिकेट टोलीले विश्व क्रिकेट लिग डिभिजन-३ खेल्यो। त्यहाँ पनि नेपाली टोली च्याम्पियन बन्यो र, त्यो बेलाका कप्तान पनि पारस नै थिए। त्यसपछि पारसकै कप्तानीमा सन् २०१४ मा नेपाली क्रिकेट टोली आईसिसी टी-२० विश्वकपमा पुग्न सफल भयो। जुन नेपालको क्रिकेट इतिहासमा एउटा कोशेढुंगा थियो।

पारस कप्तान रहेको टिमले मलेसियामा सम्पन्न आईसिसी विश्व क्रिकेट लिग डिभिजन-४ को उपाधि उचाल्यो। त्यसपछि दुबईमा भएको एसिसी एलिट ट्रफी २०१३ को उपाधि पनि नेपालले जित्यो। नेपालमै भएको एसिसी टी-२० कप २०१३ को फाइनलमा पनि नेपाली टोली पुग्यो। एसिसीका यी प्रतियोगितामा पारस ‘म्यान अफ द सिरिज’ घोषित भए।

यो कोशेढुंगालाई पनि नेपाली टोलीले बंगलादेशमा यादगार बनाउने कोशिश गर्‍यो। सन् २०१४ मा पारसको कप्तानीमा नेपाली टोलीले बंगलादेशमा खेलाइएको टी-२० विश्वकपमा सहभागिता जनायो। त्यही प्रतियोगितापछि नेपाललाई आईसिसीले टी-२० राष्ट्रको मान्यता दियो। टी-२० को मान्यता पाएपछि सन् २०१५ मा नेपाले नेदरल्याण्ड्ससँग अन्तराष्ट्रिय सिरिज खेल्यो। पारस ‘म्यान अफ द सिरिज’ घोषित भए।

सन् २०१५ मै नेपालले नामिबियामा डिभिजन-२ मा सहभागिता जनायो। त्यसपछि नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसिपमा सहभागिता हुने अवसर पायो। तर त्यो बेला नेपाल अभागी सावित भयो। हङकङविरुद्ध एउटा खेलमा पराजय र अर्को खेल आँधीले प्रभावित भएपछि नेपाल डिभिजन दुईमा झर्‍यो।

नेपाललाई टी-२० विश्वकपसम्म पुर्‍याएर लोभलाग्दो सफलता दिलाउने भूमिका लामो समय नेपाली क्रिकेट टिमको प्रशिक्षक पुबुदु दासानायकेले खेलेका थिए। कप्तानका रुपमा पारस र अन्य खेलाडीलाई पुबुदुले दिने सकारात्मक ऊर्जा र हौसला नेपाली टिमका लागि औषधि सावित भएको थियो। पारसले पनि पुबुदुकै कारण नेपाली क्रिकेट टोलीले यति ठुलो सफलता चाख्न सकेको बताउँदै आएका छन्।

पारसको नेतृत्वमा रहेको टिमले नेपाललाई ट्वान्टी-२० विश्वकपमा उभ्याएपछि नेपालमा क्रिकेटको क्रेज ह्वात्तै बढ्यो। अब वान डे मान्यता पाएपछि नेपाली क्रिकेट टिम अझै खारिने विश्वास नेपाली क्रिकेट समर्थकमा छ।

मैदान लगायतका भौतिक संरचनाको अभावबीच पनि पारससहितका खेलाडीले आफूलाई निरन्तर माझ्ने प्रयास गरिरहे। १० वर्ष भन्दाअघिबाट बन्न थालेको मुलपानी क्रिकेट ग्राउन्ड अझै पनि तयार भइसकेको छैन। यसबीच पारसले नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गर्ने वर्ष खेलाडी उपाधि २०६६ र २०६९ गरी दुर्इ पटक जितिसकेका छन्।

अन्तर्राष्ट्रिय क्रिकेटमा २२ वर्षे यात्राका क्रममा नेपाली क्रिकेटले धेरै उतारचढाव बेहोर्‍यो। सन् २००८ मा डिभिजन-५ मा रहेको नेपालले १० वर्षको बीचमा एकदिवसीय मान्यता हासिल गरेको हो।

नेपाली क्रिकेट यात्रा

सन् १९९६ आईसीसीबाट एसोसिएट टिमको मान्यता
सन् २००८ डिभिजन-५ मा तेस्रो
सन् २०१० डिभिजन-५ विजेता
सन् २०१० डिभिजन-४ मा तेस्रो
सन् २०१२ डिभिजन-४ विजेता
सन् २०१३ डिभिजन-३ विजेता
सन् २०१३ एकदिवसीय विश्वकप छनोट
सन् २०१५ चौथो भएर विश्व क्रिकेट लिग च्याम्पियनसिपमा छनोट
सन् २०१८ डिभिजन-२ मा दोस्रो हुँदै एकदिवसीय विश्वकप छनोटमा पुग्न सफल
सन् २०१८ विश्वकप छनोट पपुवा न्युगिनीलाई हराउँदै एकदिवसीय मान्यता (अन्नपुर्ण पोस्टबाट)

प्रतिक्रिया दिनुहोस्