जाँदा जाँदै पराजुलीको अन्तिम आदेश!



काठमाडौं– बिहीवार पदबाट राजीनामा दिनु अघि प्रधानन्यायाधीश गोपाल पराजुलीले न्याय परिषदका सचिव नृपध्वज निरौलाले लेखेको पत्र वदर गर्ने आदेश जारी गरेका छन् ।

निरौलाले लेखेको पत्रमै प्रधानन्यायाधीशको निजी सचिवालयको छाप र आफ्नै हस्ताक्षरसहित पराजुलीले जारी गरेको अन्तिम आदेशमा ‘निरौलाले लेखेको पत्र अभिलेखमा नराख्न’ र न्याय परिषदका सचिव निरौलालाई कारवाही गर्न न्याय सेवा आयोगमा सिफारिस गरिएको छ । पराजुलीको आदेश यस प्रकार छ ।

सचिवालय के !

न्याय परिषद ऐन नियमले परिषदको सचिवलाई यस्तो निर्णय गर्ने अधिकार दिएको नदेखिंदा प्रस्तुत निर्णय र पत्राचारसमेत वदर गरिदिएको छ । बोधार्थ दिएका सबै निकायलाई यस पत्रको अभिलेख नरहने जानकारी गराउनु साथै गैरकानुनी कार्य गर्ने सचिव नृपध्वज निरौलालाई आवश्यक कानुनी कारवाही गर्न न्याय सेवा आयोगमा लेखि पठाउनु । प्रधानन्यायाधीश गोपाल पराजुली। मिति २०७४ चैत १ बिहीबार । निजी सचिवालयको सहि छाप ।

फागुन ३० गते न्याय परिषदका सचिव नृपध्वज निरौलाले प्रधानन्यायाधीश पराजुलीलाई पत्र लेखि उनको उमेर हद गएको साउन २१ मै सकिएकोले पदमा नरहेको जानकारी गराए पछि पराजुलीले पदबाट राजीनामा गर्नु परेको हो । (नागरिक न्युज)

प्रतिक्रिया दिनुहोस्