सरकारी र निजी स्कुलमा एउटै पोसाक



काठमाडौं : दोलखाको भीमेश्वर नगरपालिका भित्रमा रहेका सम्पूर्ण सरकारी तथा निजी स्कुलमा अध्ययनरत विद्यार्थीले एकै प्रकारको पोसाक लगाउने भएका छन्।आउने शैक्षिक सत्रदेखि यो व्यवस्था कार्यान्वयनमा ल्याउन लागिएको नगरपालिकाले जनाएको छ। नगरपालिकाका मेयर भरतबहादुर केसीका अनुसार सरोकारवालासँग समेत छलफल गरेर यस्तो निर्णय गरिएको हो। ‘निजी स्कुल सञ्चालकसँग पनि यसबारे सहमति भइसकेको छ। वैशाखदेखि कार्यान्वयनमा जान्छौं’, केसीले भने।

संविधानले माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहलाई दिएको अधिकार प्रयोग गर्दै शिक्षाको स्तर सुधार्ने अभियान क्रममा यस्तो कामको थालनी गर्न लागिएको नगरपालिकाले जनाएको छ। विद्यार्थीले लगाउने पोसाकको रङ पनि एउटै हुनेछ। शिक्षकको पोसाकमा पनि एकरूपता ल्याउने विषयमा छलफल भइरहेको छ।

केसीका अनुसार सरकारी स्कुलको शिक्षाको स्तर सुधार्न नगरपालिका परिसरमा रहेका सम्पूर्ण स्कुलका कक्षा एकमा भर्ना हुनुअघि विद्यार्थीलाई शिशु कक्षा र बाल कक्षा गरेर दुई वर्ष पढाउने व्यवस्था गर्न लागिएको छ।

नगरपालिकाले यसै वर्षदेखि सामुदायिक विद्यालयमा पढ्ने कक्षा एकदेखि पाँच कक्षासम्मका विद्यार्थीलाई निःशुल्क पोसाक उपलब्ध गराउने भएको छ। निःशुल्क पोसाक उपलब्ध गराउँदा आर्थिक कठिनाइका कारण पोसाक किन्न नसकेका र विद्यालय आउन अप्ठ्यारोमा परेका विद्यार्थीलाई समेत सहज हुने नगरपालिकाको विश्वास छ।

राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रममा केसीले भने, ‘नगरपालिकाभित्रका बालबालिका शिक्षाको अधिकारबाट वञ्चित नहुन् भन्ने हाम्रो चाहना छ। विद्यालयबाहिर रहेका बालबालिकालाई विद्यालयभित्र ल्याउन अरू पनि के–कस्ता व्यवस्था गर्नुपर्छ भन्नेतर्फ पनि अध्ययन गरिरहेका छौं।’

कमजोर सरकारी स्कुलको शिक्षाको स्तर उकास्न राम्रा स्कुलका असल अभ्यासको अनुसरण गर्ने, निजी स्कुलसँग पनि सहकार्य गर्नेलगायत योजना नगरपालिकाले बनाएको छ।

पाँच दिन शैक्षिक महोत्सव हुने

विद्यालय तहको शिक्षाको स्तर उकास्ने उद्देश्यले भीमेश्वर नगरपालिकाले वैशाख १४ गतेदेखि १८ गतेसम्म शैक्षिक, विज्ञान तथा सांस्कृतिक महोत्सव आयोजना गर्ने भएको छ।

नगरपालिकाले शुक्रबार सरोकारवालासँगको छलफलमा यसबारे जानकारी दिएको हो। विद्यालय तहमा अध्ययनरत विद्यार्थीको रचनात्मक क्षमता प्रस्फुटन गराउन, राम्रा विद्यालयको अध्यासबारे अन्य विद्यालयलाई जानकारी गराउन तथा थप सुधारका लागि अपनाउन सकिने उपायबारे साझा धारणा बनाउन महोत्सवले सहयोग पुर्‍याउने आयोजकले विश्वास गरेको छ। मेलामा नास्टसँग सहकार्य गरेर विभिन्न वैज्ञानिक अविष्कारको समेत प्रदर्शनी हुनेछ। (अन्नपुर्ण पोस्ट)

प्रतिक्रिया दिनुहोस्