धरान–सिन्धुली–हेटौँडा सडक निर्माण सुस्त



मध्यनेपाललाई पूर्व जोड्ने छोटो मार्ग धरान–चतरा–गाईघाट–सिन्धुली–हेटौँडा सडक निर्माण सुस्त भएको छ । तीन वर्षभित्र निर्माण सक्ने गरी मंसिर ०७३ मा ठेक्का दिएयता १५ प्रतिशत मात्र काम भएको छ ।

३ सय १८ किमि सडक दुई लेन बनाउन दुईवटा कम्पनीलाई ठेक्का दिइएको छ । उदयपुर बसाहा वीरेन्द्र चोकदेखि सिन्धुली भिमानसम्मको १३५ किमि सडक निर्माणको ठेक्का जेटआइइसी लामा जोइन भेन्चरले पाएको छ ।

भिमानदेखि हेटौँडासम्मको ११५ किमि सडकको ठेक्का कालिका, स्वच्छन्द राङकेन जोइन भेन्चरले पाएको छ ।

सडक विभागका इन्जिनियर कविश तण्डुकारका अनुसार तीन वर्षभित्र सडक ११ मिटर फराकिलो बनाइसक्ने ठेक्का सम्झौतामा उल्लेख छ । सडक धरानबाट सुरु भएर दुन तथा शिवालिक उपत्यका, चुरेभावर र भित्री मधेस हुँदै हेटौँडा पुगेर टुंगिन्छ ।

कालिका कन्स्ट्रक्सनले धरानदेखि बसाहासम्मको सडक भने निर्माण गरिसकेको छ । यसअघि धरान–बसाहा–रूपनगर (सप्तरी) सडकको ठेक्का कालिकाले पाएको थियो ।

धरान–बसाहा हुँदै अहिले बनिरहेको सडक हेटौँडातर्फ लाग्ने कालिका कन्स्ट्रक्सनका कर्मचारी हरि पराजुलीले जानकारी दिए ।

सडकको ट्र्याक गत वर्ष नै सकिइसकेको ठेकेदार कम्पनीहरूले जनाएका छन् । सडक निर्माणको काम सकिएपछि कालोपत्रे सुरु गर्ने कालिका कन्स्ट्रक्सनका पराजुलीले जानकारी दिए ।

सडकको सुनसरीमा १८.८ किमि, उदयपुरमा १०८.५ किमि, सिन्धुलीमा १३५ किमि र मकवानपुरमा ४९.३५ किमि पर्छ । हालसम्म करिब १८ किमि कालोपत्रे, करिब ११० किमि ग्राभेल छ । बाँकी सडकको ट्र्याक मात्र खोलिएको छ ।

बसाहादेखि धरानसम्म ४८ किमि नडाहा–रूपनगर सडक आयोजनाले भेटेको छ । हाल बिपी राजमार्गको करिब १८ किमि सडक कालोपत्रे छ । पूर्वी खण्डको बसाहादेखि धरानसम्म ४८ किमि सडक भने सडक विभागले कालोपत्रे गर्ने जिम्मा लिएको छ ।

६७ वटा पुल बन्ने
निर्माणाधीन धरान–सिन्धुली–हेटौँडा सडकमा ७६ वटा पुल बन्नेछन् । ती पुल निर्माणको ठेक्का जेटआइइसी अन्क लुम्बिनी जेसीले पाएको छ । पाँचवटा पुल बनिसकेका छन् । अरू ११ वटा पुलको पिलर हालिएको छ ।

पूर्व–पश्चिम राजमार्गको वैकल्पिक सडक
धरान–सिन्धुली–हेटौँडा सडकले सुनसरी, उदयपुर, सिन्धुली र मकवानपुरलाई छुन्छ । सिन्धुलीमा बिपी राजमार्गको १८ किमि सडक भेटेको छ ।

त्यहाँबाट मकवानपुरतिर मोडिएर सडक हेटौँडा पुग्छ । यसलाई चुरे तथा पहाडी क्षेत्रका जनताका लागि मध्य र पूर्वी नेपाल जोड्ने पूर्व–पश्चिम राजमार्गको वैकल्पिक सडक मानिएको छ ।

करिब २२ अर्ब लगानी
सडक निर्माणका लागि करिब २२ अर्ब लाग्ने सडक विभागका इन्जिनियर कविश तण्डुकारले जानकारी दिए । हेटौँडादेखि सिन्धुलीसम्मको सडक, पुलपुलेसा र कल्भर्ट निर्माण गर्न हेटौँडामा आयोजना कार्यालय स्थापना गरिएको छ । पूर्वी क्षेत्रका लागि गाईघाटमा कार्यालय राखिएको छ ।

१२ हजार पाँच सय रूख काट्नुपर्ने
सडक निर्माण गर्दा पूर्वी खण्डमा आठ हजार र पश्चिम खण्डमा ४ हजार ५ सय गरी १२ हजार ५ सय रूख काट्नुपर्नेछ । तीमध्ये ८५ प्रतिशत रूख काटिसकिएको छ ।

रूख काट्ने, बिजुलीका पोल सार्ने र स्थानीयलाई मुआब्जा दिने विषयमा केही ठाउँमा अवरोध हुँदा सडक निर्माणमा ढिलाइ भएको सडक विभागका इन्जिनियर कविश तण्डुकारले बताए ।

इलामसम्म जोड्न ६ जिल्लाको माग
धरान–सिन्धुली–हेटौँडा चुरे सडकलाई इलामसम्म जोड्न पूर्वका ६ जिल्लाका स्थानीय तहले माग गरेका छन् । धरानबाट पानबारी हुँदै इलामसम्म जोड्न इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर र भोजपुरका सो सडकसँग जोडिने स्थानीय तहले सरकारसँग माग गरेका हुन् ।

चुरेमार्ग सरोकार समिति नै बनाएर ती स्थानीय तहले सडक जोड्न लबिङ थालेका छन् । चुरेमार्ग सरोकार समितिका सदस्य नरेश इवरामका अनुसार मेचीको पश्चिम किनार झापा–इलामको सिमाना दुधेचौँरीबाट झापा, मोरङ, सुनसरी हुँदै उदयपुर जोड्ने सडक बनाउन सुरु गरिएको छ । स्थानीय तहको प्रयासमा इलामको रोङ गाउँपालिका–६ सलकपुरबाट सडक खन्न सुरु गरिएको हो ।

झापासम्म करिब १५ किमि सडकको डिपिआरसमेत भइसकेको चुरेमार्ग सरोकार समितिका अध्यक्ष बृहस्पति खतिवडाले जानकारी दिए ।

त्यहाँबाट साधुकारटर, सुखानी, दानाबारी, चुलाचुली, दकम, बेलडागी, लेटाङ, पानवारी हुँदै धरानसम्म सडक निर्माणका लागि राष्ट्रिय योजनामा पार्न लबिङ सुरु गरिएको धरान उपमहानगरपालिका १५ नंं. वडाका अध्यक्ष नरेश इवरामले जानकारी दिए ।

पूर्व–पश्चिम राजमार्गको वैकल्पिक सडक
धरान–सिन्धुली–हेटौँडा सडकले सुनसरी, उदयपुर, सिन्धुली र मकवानपुरलाई छुन्छ । सिन्धुलीमा बिपी राजमार्गको १८ किमि सडक भेटेको छ । त्यहाँबाट मकवानपुरतिर मोडिएर हेटौँडा पुग्छ । यसलाई चुरे तथा पहाडी क्षेत्रका जनताका लागि पूर्व–पश्चिम राजमार्गको वैकल्पिक सडक मानिएको छ । (नयाँ पत्रिका)

प्रतिक्रिया दिनुहोस्