माओवादी केन्द्रले उपराष्ट्रपतिमा नन्दबहादुर पुनलाई नै दोहोर्याउने निर्णय गरेको छ । शनिबार पुनले उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गर्दै छन् । निर्वाचन आयोगले उपराष्ट्रपतिको उम्मेदवारी दर्ताका लागि शनिबार बिहान १० देखि २ बजेसम्म समय तोकेको छ । उपराष्ट्रपतिको निर्वाचन ९ चैतमा हुनेछ ।
राष्ट्रिय सभा उपाध्यक्षको उम्मेदवारी दर्ता पनि शनिबार बिहान १० देखि १ बजेसम्म तोकिएको छ । उपाध्यक्षको निर्वाचन ४ चैतमा हुने कार्यतालिका छ । माओवादीको शुक्रबारको बैठकले राष्ट्रिय सभा उपाध्यक्षमा शशिकला दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
एमालेबाट राष्ट्रपति विद्यादेवी भण्डारी र राष्ट्रिय सभा अध्यक्षमा गणेशप्रसाद तिमल्सिना निर्वाचित भएपछि उपराष्ट्रपतिमा माओवादीबाट पुन र उपाध्यक्षमा दाहालले उम्मेदावरी दिन लागेका हुन् ।
कांग्रेसले उपराष्ट्रपति र राष्ट्रिय सभा उपाध्यक्ष कसलाई बनाउने भन्ने विषयमा छलफल समेत गरेको छैन । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले अहिलेसम्म उम्मेदवार दिने नदिने विषयमा टुंगो नलागेको बताए ।
‘शनिबार बिहान उम्मेदवारी दर्ता हुनुअघि नेतृत्वसहितको बैठक बस्छाैँ,’ शर्माले भने, ‘बैठकपछि उपराष्ट्रपति र उपाध्यक्षको उम्मेदवार उठाउने/नउठाउने निर्णय हुन्छ ।’ (नयाँ पत्रिका)