गुल्मीबाट एमालेका दुई नेता केन्द्रीय सचिव छन् । दुवैजना सांसद भए । संयोग केपी ओली नेतृत्वको सरकारमा दुवैजना मन्त्री भएपछि जिल्लामा खुसियाली छाएको छ । सचिवद्वय प्रदीप ज्ञवाली परराष्ट्र तथा गोकर्ण विष्ट श्रम तथा वैदेशिक रोजगारमन्त्री भएका छन् ।
जिल्लाले दुईवटा मन्त्री पाएपछि एमालेको भ्रातृ संगठन युवा संघ नेपाल र अनेरास्वावियु जिल्ला कमिटी गुल्मीले सदरमुकाममा दीपावली गरेको छ ।
प्रदीप ज्ञवालीको जन्मस्थान रुरु गाउँपालिकाका र गोकर्ण विष्टको जन्मस्थल इस्मा गाउँपालिकाका विभिन्न स्थानमा पनि दीपावली गरी खुसियाली मनाइएको छ । ज्ञवाली र विष्टसहित ११ मन्त्री र ४
राज्यमन्त्रीले शुक्रबार साँझ शपथ लिएका छन् ।
को हुन् प्रदीप ज्ञवाली ?
ज्ञवाली प्रतिनिधिसभामा गुल्मी क्षेत्र नं १ बाट निर्वाचित भएका हुन् । ज्ञवालीले ०३० मा अखिलको प्रारम्भिक कमिटीबाट राजनीतिक यात्रा सुरु गरेका थिए । उनी ०३४ मा नेकपा मालेको गुल्मी पाल्पा जिल्ला किमिटीको सदस्य बनेका थिए ।
०४६ मा गुल्मी अर्घाखाँची जिल्ला किमिटीको सचिव, ०५१ मा लुम्बिनी अञ्चल कमिटी सदस्य, ०५४ मा केन्द्रीय कमिटी सदस्य, ०६७ मा पोलिटब्युरो सदस्य, ०७१ मा सचिव भएका छन् । ०५६ को आमनिर्वाचन र ०६४ को संविधानसभा निर्वाचनमा विजयी भएका थिए । ज्ञवाली ०६३ मा पर्यटन मन्त्री भएका थिए ।
को हुन् गोकर्ण विष्ट ?
विष्ट प्रतिनिधिसभा गुल्मी क्षेत्र नं २ बाट विजयी भएका हुन् । विष्ट ऊर्जामन्त्री भएपछि चर्चामा आएका थिए ।
विष्टले ०३५ बाट अखिलबाट राजनीतिक यात्रा सुरु गरेका हुन् । उनी ०४० मा लोकसेवामार्फत नाम निकालेका विष्ट तत्कालीन अञ्चलाधीश काजीमान कन्दवाङसँग जागिरको पहिलो दिनमै विवाद परेपछि जागिर छाडेर राजनीतिमा सक्रिय भएका थिए ।
उनी एमालेको तत्कालीन युवा संगठन प्रजातान्त्रिक राष्ट्रिय युवा संघको अध्यक्षसमेत भएका थिए । उनले पार्टीको स्थानीय विभाग, विद्यार्थी र युवा फाँटको इन्चार्ज भएर काम गरेका छन् ।
०७१ मा उनी पार्टीको केन्द्रीय सचिवमा निर्वाचित भएका हुन् । उनी ०५६ र ०७० सालमा तत्कालीन गुल्मी क्षेत्र नं. ३ बाट निर्वाचित भएका थिए । उनी ०६८ मा ऊर्जामन्त्री बनेका थिए । (नयाँ पत्रिका)