काठमाडौँ, ३ चैत
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले आगामी ५ वर्षभित्रमा विकास र समृद्धिका विषयमा जनतासामु गरेको वाचा पूरा गर्ने ढंगले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
मन्त्रालयमा आज साँझ पदबहालीपछि कर्मचारीलाई निर्देशन दिँदै उहाँले भन्नुभयो, “अब देश र जनताको हितमा काम गर्नुस्, राम्रो काम गर्नेको राम्रै मूल्यांकन हुनेछ, म कुनै राजनीतिक विचारसँग सरोकार राख्दिन ।”
आर्थिक समृद्धि र पूर्वाधार विकासको कामलाई तीव्रता दिने विषयमा प्रधानमन्त्रीको चासोलाई बुझेर काम गर्न आवश्यक रहेको बताउँदै मन्त्री महासेठले थोरै समयमा धेरै काम गरेर राम्रो परिणाम दिन सक्नुपर्दछ भन्नुभयो ।
यसअघि मन्त्रालयका सचिव देवेन्द्रबहादुर कार्कीले मन्त्री महासेठलाई मन्त्रालय मातहत सञ्चालन गरेका आयोजनाका बारेमा जानकारी गराउँदै मुलुकमा पूर्वाधार निर्माणमा नेतृत्वले दिने निर्देशनलाई हामीले कटिबद्ध र प्रतिबद्धताका साथ काम गरी निकै सकारात्मक नतिजा दिलाउने अठोट व्यक्त गर्नुभयो ।
नवनियुक्ति मन्त्री महासेठसँग नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य, पूर्वमन्त्री भएर काम गरेको अनुभव छ । (रासस)