पर्यटकको आगमन शुरु



रसुवा, ३ चैत

लाङ्टाङ तथा गोसाइँकुण्ड क्षेत्रको हिमाली पदयात्राका लागि आन्तरिक एवं बाह्य पर्यटकको आगमन शुरु भएको छ ।

लाङ्टाङ राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख संरक्षण अधिकृत युवराज रेग्मीका अनुसार यस वर्षको दोस्रो मौसमअन्तर्गत पर्यटकको आगमन हुन थालेको छ । पर्यटनका लागि पहिलो याम असोजदेखि मंसिर र दोस्रो याम फागुनदेखि वैशाखसम्म मानिन्छ ।  फाटफुट रुपमा भए पनि बाह्रै महिना पर्यटक आउने गरेका कारण हिमाली जिल्ला रसुवामा चहलपहल देखिन्छ ।

पर्यटकको आगमन निरन्तर भएका कारण चालु आवको साउनदेखि अहिलेसम्म करीव रु  दुई करोड २० लाख राजश्व प्राप्त भएको लाङ्टाङ राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ । फागुनदेखि वैशाखसम्मको मौसममा भने दैनिक १०० जनाभन्दा बढीले ओहोरदोहोर गर्ने अपेक्षा गरिएको बताइएको छ ।

चालु आवको साउनदेखि अहिलेसम्म कूल हजार ५३९ जनाको आगमन भएकामा सार्क राष्ट्रका ११९  र अमेरिका, जापान, जर्मनी, फ्रान्स, इजरायललगायत देशका छ हजार ४२० जना पर्यटकको आगमन भएको राष्ट्रिय निकुञ्ज कार्यालयका नायब सुब्बा तिलकुमारी अधिकारीले बताउनुभयो । गत आवमा भने ११ हजार ६८ पर्यटकले भ्रमण गरेको बताइएको  छ । भूकम्पपछि क्षतिग्रस्त होटल र लज पुनःनिर्माण भइसकेकाले हिमाली पदयात्रीलाई खान, बस्न यथेष्ट सुविधा भएको चन्दनबारीका होटल व्यवसायी सुब्बा लामाले बताउनुभयो । यहाँका पर्यटकीय क्षेत्रमा लाङटाङ (३,९००मि), यालापिक, लाङटाङ लिरुङ(७,२००), गणेश हिमाल, गोसाइँकुण्ड(४,३००), तामाङ सम्पदा मार्ग, पार्वतीकुण्ड(२,४०० मि) नागथली, लौरीविनायक आदि छन् ।

प्रतिक्रिया दिनुहोस्