काठमाडाैँ – सरकारमा जाने बाटो बन्द भएपछि राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री केपी ओलीसँग चिढिएका छन्।
प्रधानमन्त्रीले शुक्रबार मन्त्रिमण्डल विस्तार गरेसँगै राजपा सरकारमा जाने बाटो बाटो बन्द भएको छ । यसअघि प्रधानमन्त्रीले राजपाका अध्यक्ष ठाकुरसँग दुईपटक भेट गरी दुईवटा मन्त्रालय र उपराष्ट्रपति दिने प्रस्ताव गरेको राजपा स्रोतको भनाइ छ । ओलीले शुक्रबार २२ सदस्यीय मन्त्रिमण्डल बनाएका छन् । संविधानले २५ सदस्यभन्दा बढीको मन्त्रिमण्डल बनाउन रोकेको छ । त्यसैले ओलीसँग अब तीनजना मात्र सिट बाकि छ । त्यो सिट संघीय समाजवादी फोरम नेपालका लागि सुरक्षित रहेको एमालेका नेताहरू बताउँछन् । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले राजपा अब सरकारमा आउने सम्भावना लगभग बन्द भएको बताउँछन् । उनी भन्छन्, ‘अब राजपालाई सरकारमा ल्याउने हो भने एमाले र माओवादीबाट केही मन्त्रीलाई फिर्ता बोलाउनुपर्ने हुन्छ । तत्काल त्यो सम्भावना छैन।’
मन्त्रिमण्डलमा बाँकी रहेका तीन सिट संघीय समाजवादी फोरम नेपालका लागि सुरक्षित रहेको उनले प्रस्ट पारे । उनले भने, ‘अब त्यो तीन सिट फोरमका लागि होे । फोरमका लागि हामीले बाटो खुला राखेका छौँ ।’ आफनै कारणले शुक्रबार फोरम सरकरमा नआएको पनि उनले बताए।
यता, राजपाका नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले सरकरमा जाने सम्भावना सकिएको बताए । ‘प्रधानमन्त्रीले नै हामीलाई सरकारमा लैजान प्रस्ताव गर्नुभएको थियो । त्यसपछि उहाँले कुरै गर्नु भएन ।’ प्रधानमन्त्रीले कुरा अघि नबढाएपछि सरकारमा जाने राजपाको बाटो बन्द भएको पनि उनले बताए । उनले भने, ‘संविधान संशोधन गर्ने सर्तमा हामीले सरकारमा जान सकिने बताएका थियाँै तर उहाँले नै छलफल नै गर्नुभएन ।’ राजपा संसदमा विपक्षी बेञ्चमा बस्ने गरेको पनि उनले बताए । उनले भने, ‘हामीले सरकारलाई समर्थन गरे पनि हामी संसदमा विपक्षी बेञ्चमा बस्दै आएका थियाैँ । अब पनि विपक्षी बेञ्चमै बस्छौँ। ’
राजपाका सहमहामन्त्री डा. सुरेन्द्र झाले पनि राजपा सरकारमा जाने सम्भावना अब करिबकरिब सकिएको बताए । उनले भने, ‘अब हामी सरकारमा नगएर संगठन विस्तार गर्नतीर लाग्छाैँ। सरकारमा गएको भए हाम्रो संगठन कमजोर हुने थियो।’ स्रोतका अनुसार शुक्रबारसम्म पनि राजपाबाट राजेन्द्र महतो र शरतसिहं भण्डारी सरकारमा जान इच्छुक देखिएका थिए। सरकरमा दुईवटा सिट पाएको भए महतो र भण्डारीको विषयमा विवाद हुने स्थिति नआउने राजपाका एक नेता बताउँछन्। उपराष्ट्रपति पद राजपाले पाएको भए ठाकुरलाई उपराष्ट्रपतिमा जान राजपाका अन्य नेताहरूले ठाकुरलाई दबाब दिदै आएका थिए । उपराष्ट्रपतिमा जान सर्वेन्द्रनाथ शुक्लाले पनि इच्छा देखाएका थिए। शुक्रबार नन्दकिशोर पुन उपराष्ट्रपतिमा निर्विरोध निर्वाचित भएपछि शुक्लको सम्भावना अब सम्पूर्ण रूपमा बन्द भएको छ।
फोरमले अझै नाम टुंगो लगाउन सकेन
यता, सरकारमा जान लागेको संघीय समाजवादी फोरम नेपालले शनिबार पनि सरकरमा जाने सांसदको नाम टुंगाे लगाउन सकेन। शुक्रबार पनि फोरम नेपालका सांसदको प्रशिक्षण बैठक धुलिखेलम बस्यो। शुक्रबारदेखि नै प्रशिक्षण बैठक टुंगिएको फोरमका सांसद विमल श्रीवास्तवले बताए। वास्तवले भने सरकारसँग संविधान संशोधनमा लिखित सहमति गरेपछि मात्र पार्टी सरकारमा जाने दाबी गरे। उनले भने, ‘सरकारसँग लिखित सहमति नभएको कारण हामी सरकारमा नगएका हाैँ । लिखित सहमति भएपछि मात्र सरकारमा जान्छाैँ।’ सरकारमा जान फोरमबाट राजेन्द्र श्रेष्ठ, इस्तियाक राइ, रेणु यादव, प्रदीप यादवलगायत नेता इच्छुक रहेका छन् । फोरमका अध्यक्ष उपेन्द्र यादवको विषयमा भने पार्टीमा विवाद छैन । प्रधानमन्त्रीले फोरमका लागि सहरी विकास र सिँचाइ मन्त्रालय छुट्टयाएका छन्।