काठमाडौं, ४ चैत
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई चोरीको आरोप लागेको छ । राष्ट्रपति चुनावका क्रममा ट्रम्पले आफ्ना लागि काम गर्ने संस्थामार्फत फेसबुक प्रयोगकर्ताहरुको निजी सूचना चोरी गरेको आरोप लागेको हो ।
बीबीसीका अनुसार अमेरिकाको म्याशाच्युसेट्स राज्यका उच्च कानून अधिकारीले राष्ट्रपति ट्रम्पको चुनावी अभियानका लागि काम गरेको एउटा फर्मले फेसबुक प्रयोगकर्ताहरूको निजी सूचनाहरू संकलन गरेको भन्ने विवरणबारे उनको कार्यालयले छानबिन गर्ने बताएकी छन् । क्याम्ब्रिज एनालिटिका नामक फर्मका पूर्व कर्मचारीले करिब पाँच करोड फेसबुक खाताहरूमा पहुँच कायम गरिएको बताए ।
म्याशाच्युसेट्सकी महान्यायाधिवक्ता मोरा हेलीले अमेरिकी नागरिकहरूले जवाफ सुन्न पाउनुपर्ने बताइन् । फेसबुकले क्याम्ब्रिज एनालिटिकालाई निलम्बन गरिदिएको छ । तर, दुईवटै कम्पनीले गलत नगरेको बताएका छन् । बेलायतको द अब्जरभर र अमेरिकाको न्युयोर्क टाइम्स पत्रिकाले प्रयोगकर्ताका जानकारी विनै पाँच करोड फेसबुक खाताहरूमा पहुँच कायम गरी त्यहाँका विस्तृत विवरणहरू प्रयोगमा ल्याइएको जनाउँदै खोजमुलक समाचार प्रकाशन गरेका थिए ।
फेसबुकले क्याम्ब्रिज एनालिटिकालाई शुक्रवारबाटै निलम्बन गरेको छ । उक्त अमेरिकी तथ्याङ्क विश्लेषण फर्मले राष्ट्रपति ट्रम्पको चुनावी अभियानमा खेलेको भूमिकाका कारण राम्रै नाम कमाएको छ । अभियानका क्रममा उसले अमेरिकी मतदाताहरूको सोचाइ कस्तो छ भन्ने जटिल विषयका तथ्यांकहरू उपलब्ध गराएको थियो । उक्त तथ्याङ्कसम्बन्धी कम्पनीले त्यसबेला फेसबुकबाट संकलन गरिएका जानकारी सन् २०१६ को राष्ट्रपति चुनावमा प्रयोग नगरिएको जनाएको छ ।