म्याग्दी, ४ चैत
बाटो खुलेको २० वर्षपछि जलजला गाउँपालिकाको मोहनचोकदेखि मल्लाज जोड्ने सडक स्तरोन्नतिको काम शुरु भएको छ ।
बेनी–मालढुंगा सडकको मोहनचोक खण्डदेखि मल्लाजको कोटघर जोड्ने आठ किमी दूरीको सडक फराकिलो र नाली बनाउने काम शुरु भएको ४ नं वडाध्यक्ष भीष्म मल्लले जानकारी दिनुभयो ।
चालु आर्थिक वर्षमा उक्त योजनाका लागि गाउँपालिकाले रु ९० लाख विनियोजन गरेको छ । हाल साढे तीन मिटर चाक्लो रहेको सडक कम्तीमा सात मिटर फराकिलो बनाउनाका साथै नालीसमेत निर्माण गरिने अध्यक्ष मल्लले बताउनुभयो । “ग्याबिन र पक्की पर्खाल निर्माणको काम भइरहेको छ”, उहाँले भन्नुभयो । उपभोक्ता समितिमार्फत दुई कार्यक्रमबाट सडक स्तरोन्नति आयोजना सञ्चालन हुनेछ । विसं २०५४ मा बाटो खुलेको मोहनचोक मल्लाज सडक सामान्य मर्मतका भरमा सञ्चालन हुँदै आएको थियो ।
सो आयोजनाबाट जलजला गाउँपालिका वडा नं १, २, ३, ४ र ५ नंमा पर्ने बाँसखर्क, मल्लाज र लेकफाँटका साथै अन्नपूर्ण गाउँपालिका– ८ राम्चेका बासिन्दा लाभान्वित हुने उपभोक्ता समितिका सचिव नवीन जिसीले बताउनुभयो ।
यसैगरी जलजला– ४ को पाल्सिङदेखि खोलाखेत जोड्ने एक किमी १०० मि सडकको बाटो खोल्ने काम सकिएको छ । चार नं वडाकै फड्केढुंगा पिडाल्ना हुँदै लेकफाँट रात्माता जोड्ने सडकको अरजेटको भीरमा बाटो खन्ने काम भइरहेको छ । सो योजनाका लागि गाउँपालिकाले यस वर्ष रु ४५ लाख विनियोजन गरेको वडा सदस्य हरिबहादुर कार्कीले बताउनुभयो ।
जलजला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमले गाउँपालिकाले बजेट विनियोजन गरेका ३० मध्ये २९ योजनाको सम्झौता भइसकेको जानकारी दिनुभयो । आठ र ९ नं वडामै पुगेर योजना सम्झौता गरिएको जानकारी दिँदै उहाँले अन्य वडाका योजनासमेत कार्यान्वनको चरणमा रहेको बताउनुभयो ।
असी प्रतिशत योजना सम्झौता भएको छ । चालु आवमा सञ्चालन हुने योजना तथा कार्यक्रमका लागि करीव रु १२ करोड ९५ लाख बजेट विनियोजन भएकामा नौ महिनाका अवधिमा पूँजीगततर्फको ३५ प्रतिशत बजेट खर्च भएको प्रमुख प्रशासकीय अधिकृत गौतमले जानकारी दिनुभयो । (रासस)