महिन्द्राको इमेज सबैभन्दा माथि छ



मोतीलाल दुगड
कार्यकारी अध्यक्ष, एमभी दुगड ग्रुप

एमभी दुगड ग्रुपले अटोमोबाइलका धेरै विदेशी ब्रान्डसँग सहकार्य गरिरहेको छ । भारतको महिन्द्रा एन्ड महिन्द्रासँग कारोबार गर्दा के–कस्तो सजिलो वा अप्ठ्यारो महसुस गर्नुभएको छ ?
महिन्द्रासँग २६ वर्षदेखि सजिलो हिसाबले काम गर्न पाएका छौँ । अब यो सम्बन्ध पुरानो र मजबुत भइसक्यो । महिन्द्राको उच्च तहदेखिका सबै कर्मचारीसँग मेरो व्यक्तिगत चिनजान पनि छ । व्यापारको सिलसिलामा हरेकपटक भेटघाट हुँदा सबैसँग राम्ररी कुरा भएको छ । एक वर्षअघिबाट महिन्द्राले नेपालमा शाखा कार्यालय नै स्थापना गरिदिएको छ, यसले गर्दा काम गर्न झन् सहज भएको छ । महिन्द्राले हामीलाई उत्कृष्ट साझेदारको व्यवहार गरेको छ । हामीलाई विभिन्न सम्मानपत्रसमेत दिएर काम गर्न उत्साह थपेको छ ।

वर्षैपिच्छे महिन्द्राले कति संख्यामा गाडी बिक्री गर्ने भनेर लक्ष्य तोकिदिने गरेको होला, त्यो लक्ष्यअनुसार गाडी बिक्री गर्न सक्नुभएको छ–छैन ?
महिन्द्रा र हामी बसेर प्रत्येक वर्ष कति संख्यामा गाडी बिक्री गर्न सकिन्छ भनेर लक्ष्य तोक्छौँ । हामी दुवै पक्षको सहमतिमा संख्या निर्धारण हुने गरेको छ । बर्सेनि तोकिएको संख्यामा गाडी बिक्री गर्न हामी सफल भएका छौँ । कतिपय अवस्थामा हामीले लक्ष्यभन्दा बढी संख्यामा गाडी बिक्री गर्दै आएका छौँ । लक्ष्य पूरा गर्न कहिल्यै समस्या भएको छैन ।

महिन्द्राको विभिन्न देशमा डिलर नेटवर्क छ । त्यसमध्ये नेपाललाई कत्तिको प्राथमिकता दिएको महसुस गर्नुभएको छ ?
महिन्द्राले नेपाललाई सधैँ उच्च प्राथमिकतामा राखेको मैले महसुस गरेको छु । महिन्द्राले उत्पादन थालेको पहिलो दिनबाटै नेपालमा कारोबार सुरु गरेको हो । अरू देशमा भने बिस्तारै पाइला चालेको हो । त्यसैले पनि नेपालसँग महिन्द्राको नजिकको सम्बन्ध छ । वर्षौँदेखि नेपाल महिन्द्राका लागि गाडी निर्यात हुने प्रमुख बजारका रूपमा उभिएको छ ।

महिन्द्राले नेपालमा उपलब्ध गराइरहेका कमर्सियल भेहिकल कत्तिको उपयोगी छन् ?
भारत र नेपालको भूबनोट उस्तै छ । त्यहाँ पहाड, उच्च हिमाली क्षेत्र छन्, जुन नेपालमा पनि छन् । दुवै देशमा तराईका फाँट छन् । इन्धन पनि भारतबाटै आउँछ । यसकारण भारतमा महिन्द्राले बनाएका सबै भेहिकल नेपालका लागि उपयुक्त छन् । हाम्रा लागि फरक प्रकृतिका गाडी बनाइरहनु आवश्यकता नै पर्दैन ।

महिन्द्राको कमर्सियल भेहिकल प्रयोगकर्ताको प्रतिक्रिया के पाउनुभएको छ ?
नेपालमा महिन्द्रा गाडीको इमेज सबैभन्दा माथि छ । धेरै व्यवसायी–उपभोक्ताले वर्षौँदेखि महिन्द्राका गाडी प्रयोग गरेका कारण विश्वास जगाउन सफल भएका छौँ । महिन्द्राको गाडीमा कुनै कमी छैन । प्रविधि, इन्धन खपत, स्पेयर पार्टस्को उपलब्धता, बिक्रीपछिको सेवालगायतका आधारमा महिन्द्रा पहिलो स्थानमा छ । मूल्य पनि प्रतिस्पर्धी कायम गरिएको छ ।

बिक्रीपछिको सेवा प्रवाहमा महिन्द्राले कत्तिको सहयोग गर्छ ?
महिन्द्रा र हाम्रो ध्यान नै सर्भिस र स्पेयर पार्टस्मा छ । किनभने, एउटा उपभोक्ताले गाडी किन्न आफ्नो सर्वस्व मिहिनेत खर्चेको हुन्छ । त्यस्ता उपभोक्तालाई उचित र समयमै सेवा दिनु हाम्रो दायित्व हो । कुनै–कुनै वेला हामीले छिटो पार्टपुर्जा चाहियो भनेको अवस्थामा महिन्द्राले कुरियर गरेर २४ घन्टाभित्र उपलब्ध गराउने गरेको छ । ब्रेक डाउन भेहिकललाई स्पेयर पार्टस् उपलब्ध गराउन महिन्द्रासँग छुट्टै विभाग नै छ ।

महिन्द्राका गाडी नेपाल सुहाउँदा छन्

सञ्जय जाधव, उपाध्यक्ष
हेड अफ इन्टरनेसनल अपरेसन, महिन्द्रा एन्ड महिन्द्रा, इन्डिया

भारतीय अटोमोबाइल निर्माता कम्पनी महिन्द्रा एन्ड महिन्द्रा र नेपालस्थित व्यावसायिक घराना एमभी दुगड ग्रुपबीच व्यावसायिक सवारीसाधनको कारोबार गर्ने गरी भएको सहकार्य २६ वर्ष पुगिसकेको छ । यो अवधिसम्मको सहकार्यलाई महिन्द्राले कसरी मूल्यांकन गरिरहेको छ ?
महिन्द्रा एन्ड महिन्द्रा कम्पनीको नेपालस्थित एमभी दुगड ग्रुपसँगको सहकार्य पछिल्लो २६ वर्षदेखि निरन्तर अघि बढिरहेको छ । महिन्द्राले सन् १९९२ मा अलविन निसान ग्रुपलाई स्वामित्वमा लिएदेखि नेपालका लागि दुगड ग्रुपसँग कमर्सियल भेहिकलको कारोबार गर्न सहकार्य सुरु भएको हो । अहिलेसम्मको सहकार्य धेरै उत्साहजनक छ, जसकारण हलुका कमर्सियल सवारीसाधन बिक्रीमा सुरुका दिनबाटै ‘मार्केट लिडर’ का रूपमा उभिन सकेका छौँ । यसक्रममा ७० प्रतिशतभन्दा बढी बजार हिस्सा लिन सकेका छौँ । यो बजार हिस्सा महिन्द्राको अधिकृत विक्रेतासँग हुनु निश्चित रूपमा खुसीको कुरा हो । बजार हिस्सा बढाउने क्रममा नेपालभर महिन्द्राको बिक्री, सर्भिस सेन्टर, स्पेयर पार्टस् बिक्री केन्द्रको नेटवर्क विस्तार भएको छ । नेपालभर महिन्द्राको १६ डिलर, २५ सर्भिस प्वाइन्ट हुनु हाम्रा लागि सुखद पक्ष हो । पछिल्लो तीन वर्षदेखि महिन्द्राको हेभी कमर्सियल भेहिकल (ट्रक, ट्रिपर, ट्र्याक्टरलगायत) पनि नेपालमा सार्वजनिक गरेका छौँ । सबै उत्पादन बजारमा धेरै राम्रो अवस्थामा बिक्री भइरहेका छन् ।

अटोमोबाइल बिजनेसमा बिक्रीभन्दा कस्टमर सर्भिसलाई अहिले बढी जोड दिइन्छ । यसमा दुगडले के–कति गर्न सकेको तपार्इंको बुझाइ छ ?
अटोमोटिभ बिजनेसमा उत्पादन राम्रो भएर मात्र बजारमा राम्रो प्रभाव बनाउन वास्तवमै कठिन छ । उपभोक्तालाई धेरैभन्दा धेरै राम्रो सेवा दिनु जरुरी छ । दुगड ग्रुपले महिन्द्राको कमर्सियल भेहिकलको कारोबार गर्दैगर्दा उच्चस्तरको बिक्रीपछिको सेवा दिन सकेको मैले बुझेको छु । देशैभर राम्रो नेटवर्क विस्तार गरेर सेवा दिएको हाम्रो बुझाइ छ । आजको दिनमा बजारको नेतृत्व गरिरहँदा बिक्रीपछिको सेवा नै महत्वपूर्ण हो । नेतृत्व तहमा बसिरहन पनि बिक्रीपछिको सेवा थप चुस्त बनाइराख्नुपर्छ भन्ने कुरा दुगड ग्रुपले बुझेको देखिन्छ । त्यसैले दुगडको कारोबार र उहाँहरूसँगको साझेदारीबाट हामीलाई खुसी मिलेको छ । आगामी दिनमा यो साझेदारी थप बलियो हुने मैले देखेको छु ।

अहिले भारत विश्वका लागि ‘अटोमोबाइल म्यानुफ्याक्चरिङ हब’ बन्दै गएको छ । भारतीय कम्पनी आफैँले पनि अटोमोबाइलमा प्रगति गर्दै गएका छन् । जसकारण भारतीय कम्पनीको बजार दक्षिण एसिया र एसिया मात्र नभएर संसारभर फैलिएको छ । यो अवस्थामा निकटतम छिमेकी रहेको नेपाललाई भारतीय कम्पनीले कति प्राथमिकता दिने गरेका छन् ?
हो, भारतमा ठूलो संख्यामा विभिन्न रेन्जका सवारीसाधन उत्पादन भइरहेका छन् । त्यहाँको उत्पादन नेपाल सुहाउँदो हुन्छ । किनभने, नेपाल र भारतबीच धेरै कुरा मिल्छ । भारतका लागि वर्षौँदेखि भौगोलिक, राजनीतिक, सांस्कृतिक पक्षले नेपाल नजिकको छिमेकी भएको छ । हामी दुवै देशका उपभोक्ताको अपेक्षा, बानी, प्रयोग गर्ने तरिका, बुझाइ सबै मिल्छन् । जसकारण भारतका लागि जस्तो भेहिकल बनेको छ, सोही भेहिकल नेपालमा पठाउने गरिएको छ । भारतीय कम्पनीले सधैँ नेपाली उपभोक्तालाई ध्यान दिएरै भेहिकल उत्पादन गरेका छन् । यहाँका उपभोक्तालाई उच्चस्थानमा राखेर प्रोडक्ट डिजाइन गरिएको हुन्छ । (नयाँ पत्रिका)

प्रतिक्रिया दिनुहोस्