सुबिन भट्टराई चर्चित युवा साहित्यकार हुन् । उपन्यास ‘समर लभ’बाट चर्चामा आएका उनीका साया, मनसुनजस्ता उपन्यास पनि लोकप्रिय छन् । विद्यार्थीजीवनदेखि नै साहित्यमा रुचि राख्ने भट्टराईको विद्यार्थीजीवन अर्थात् कलेजका दिनबारे यहाँ चर्चा गरिएको छ ।
प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेँ
मेरो विद्यार्थीजीवनको सुरुवात काठमाडौंबाटै भएको हो । धोबीधारामा रहेको राष्ट्रिय पूर्वप्राथमिक विद्यालयबाट क, ख, ग सिकेको हुँ । त्यसपछि डिल्लीबजारस्थित क्षितिज स्कुलमा भर्ना भएँ । त्यहाँ कक्षा २ सम्म अध्ययन गरेँ । यसरी मैले धेरै विद्यालय परिवर्तन गरेको छु । कालिकास्थानमा अवस्थित मेट्रोपोलिटन स्कुलमा कक्षा ३ अध्ययनका लागि भर्ना भएँ । जहाँ मैले कक्षा ६ सम्म अध्ययन गरेँ । त्यसपछिको शिक्षा सूर्योदय स्कुलबाट हासिल गरेँ । जहाँबाट २०५५ सालमा एसएलसी दिएँ । मैले प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेको थिएँ ।
परिवारले भनेपछि साइन्स पढेँ
त्यतिवेला प्रथम श्रेणीमा उत्तीर्ण हुनेहरू साइन्स, द्वितीय श्रेणीमा उत्तीर्ण हुनेहरूले कमर्स र तेस्रो श्रेणीमा उत्तीर्ण हुनेहरूले मानविकी पढ भन्ने जमाना थियो । मलाई भने लिटरेचरमा इच्छा थियो, तर घरपरिवारले साइन्स पढ भनेपछि न्यु मिलिनियम कलेज धुम्बाराहीबाट साइन्समा अध्ययन सुरु गरँे ।
घरपरिवारको डाक्टर–इन्जिनियर बनाउने चाहना
म डाक्टर अथवा इन्जिनियर भएको हेर्ने घरपरिवारको चाहना थियो । त्यसैले म साइन्समा प्लस टु गर्दै थिएँ । यही क्रममा बिरामी परेँ । जसले गर्दा मेरो दुई वर्ष पढाइ रोकियो । परीक्षाकै समयमा बिरामी परेकाले अलि हतोत्साही पनि भएँ ।
पैसा अभावले इन्जिनियरिङ पढिनँ
अर्को कुरा इन्जिनियर पढ्न पैसाको पनि समस्या थियो । इन्जिनियरिङ अध्ययनका लागि नाम निकाल्न सक्यो भने अलि सहज हुन्थ्यो । तर, नाम निकाल्न सक्ने अवस्थामा म थिइनँ । जसले गर्दा म इन्जिनियरिङतर्फ जान सकिनँ । त्यसपछि त्रिचन्द्र क्याम्पसबाट इन्भारोमेन्ट साइन्समा बिएस्सी गरँे । त्रिविबाट एमएसी गरँे ।
कलेजको राजनीतिमा चासो भएन
म कलेजमा अलि सोझो स्वभावको थिएँ । जसले गर्दा अरू साथीको जस्तो साथी बटुलेर बस्ने मेरो स्वभाव थिएन । म अलि अन्तरमुखी स्वभावको मान्छे थिएँ । जसले गर्दा अरूभन्दा पनि विशेषगरी साहित्य र पढाइलाई विशेष प्राथमिकता दिन्थेँ । कलेजमा कतिपय साथीहरू राजनीतिमा लाग्थे । कलेजमा राजनीतिसम्बन्धी विभिन्न कार्यक्रम हुन्थे, चुनाव हुन्थे । तर, मलाई राजनीतिमा कुनै चासो थिएन ।
पढाइमा कहिल्यै असफल भइनँ
म पढाइलाई निकै प्राथमिकता दिन्थेँ । परीक्षाको तालिका आएपछि चाहिँ मच्चिएरै पढ्थेँ । पढाइमा अब्बल नै थिएँ । एकपटक पढेको कुरा हत्तपत्त बिर्सिँदैनथेँ । जसले गर्दा कहिल्यै पछाडि फर्केर हेर्नुपरेन ।
प्लस टुमा टेबलटेनिस खुब खेलेँ
मलाई खेलकुदमा पनि रुचि थियो । जसमा टेबलटेनिस खेल मलाई असाध्यै मन पर्छ । प्लस टु अध्ययन गर्दा टेबलटेनिस खुब खेलेँ । तर, त्रिचन्द्रमा अध्ययन गर्न गएपछि टेबलटेनिस खेल्ने वातावरण भएन । अहिले पनि म टेबलटेनिसको राम्रो खेलाडी हुँ ।
कविता लेखेर रेडियो नेपाल जान्थेँ
मलाई साहित्यमा सानैदेखि रुचि थियो । विद्यालय तहमा अध्ययन गर्दा नै म कविता लेखेर रेडियो नेपाल जान्थेँ । शुक्रबार बाल कार्यक्रममा कविता वाचन हुन्थ्यो । प्रायजसो बाल कार्यक्रममा मेरो कविता वाचन हुन्थ्यो । त्यस्तै, म रेडियोमा नाटक पनि धेरै खेल्थेँ ।
कलेजमा कसैसँगप्रेम बसेन, पछुतो छैन
कलेज भनेको एउटा चञ्चले उमेर हो । यो उमेरमा विभिन्न खालका कुराहरू आउँछन् । त्यसमध्येको एउटा प्रेम पनि रहेछ । मेरा कतिपय साथी प्रेमी–प्रेमिकाको रूपमा रहेर डेटिङ पनि जान्थे । म डेटिङचाहिँ गइनँ । तर, मन न हो कोही केटी मन पर्ने त भइहाल्थ्यो । तर, कसैलाई प्रस्ताव राखिनँ । अर्को कुरा, मैले मन पराएका केटीले मलाई हेर्दैैनथे अनि मलाई मन पराउनेलाई म मन पराउँदैनथेँ । यसैकारण पनि मेरो कसैसँग प्रेम नबसेको होला । प्रेमिका भएको भए समय, पैसाको खर्च हुन्थ्यो होला । त्यसैले कसैसँग प्रेम नबसेकोमा खुसी छु । (नयाँ पत्रिका)