जिल्लाको काठेखोला गाउँपालिका वडा नं. ७ रेशका कृष्णप्रसाद गौतमको दैनिकी ठेलाको व्यापारमा चलेको छ । उनले दिनहुँ तरकारी बेचेर आफ्नो दैनिकी चलाएका छन् । थोरै पुँजी हुनेका लागि यो पेसा सजिलो मध्येमा पर्छ । उनले ठेलामा तरकारी व्यापार गर्न थालेको २० वर्ष पुगेको छ ।
गौतम बिहानै ६ बजे आफ्नो ठेलामा ताजा तरकारी भरेर बजार निस्कन्छन्, बजार भरी तरकारी डुलाउनु उनको बाध्यता हो । ठेलाको व्यापारको साथमा बागलुङ बजारमै सानो किराना सामानको खुद्रा पसल राखेका छन् । बिहान ठेला भरी तरकारी भरेर बजार निस्केपछि सुरु हुने उनको दैनिकी फेरिएको छैन । बिहान र बेलुकी ठेला लिएर बजारमा निस्कने उनले तरकारी खरिद गरेको पैसा बुझाएर आउने नाफाबाट घर धानेका छन् । हरेक दिन उज्यालो हुँदा बागलुङ बजारमा ठेला घुमाएर तरकारी पसल, होटल तथा घरघरमा उनले तरकारी बेच्दै आएका छन् । बिहानको खेप दश बजेभित्र सकेपछि फर्केर उनी घरको काममा श्रीमतीलाई सघाउँछन्, दिउँसो गाउँका आफन्तहरुको प्रशासनिक काममा सहयोग गर्छन् । दिउँसो तिन बजेपछि फेरि बेलुकीको समयको तरकारी ठेलामा हाली बजार जान्छन्, त्यो सकेर बेलुकी ९ बजे मात्र फर्कछन् ।
ठेलामा तरकारी बेच्ने काम गरेर उनले चार जनाको परिवारको दैनिकी चलाएका छन् । २०५४ सालमा पर्वतको पाङमा रहेका आफन्त संग एक लाख रुपैयाँ ऋण मागेर व्यवसाय सुरु गरेका गौतमले १ लाख ऋण ल्याए बापत १५ हजार धरौटी राखेका थिए । उ बेला सजिलै ऋण पाईने थिएन, गौतमले भने, ‘अहिले त सबै आफन्तहरुले सहयोग सजिलै गर्छन्, त्यो बेलाको सम्झदा सपना जस्तो लाग्छ ।’ बैदेशिक रोजगारीको शिलशिलामा बाबु आमा भारतको सिलाङमा गएको बेला २०२९ सालमा उतै जन्मेका गौतमले आफु सामान्य लेखपढ मात्र गरेको बताउँछन् ।
आफूले धेरै पढ्न–लेख्न नपाए पनि छोराछोरीलाई पढाउन सफल भएको उनी बताइउँछन् । गौतमले ठेलाबाट कमाएको आम्दानीले छोरीलाई पुल्चोक ईन्जिनियरिङ कलेज काठमाडौंमा पढाएका छ । छोरा छोरीको पढाईले गर्दा दुःख गर्न परे पनि आत्म सन्तुष्टी भएको छ गौतम भन्छन्, ‘ठेलामा तरकारी बेचेर कमाएको पैसाले खाने–लाउनेदेखि छोराछोरीलाई पढाएर पनि केही बचत गरेको छु । मासिक ३० हजार ठेलामा तरकारी बेचेर आम्दानी गर्ने गरेको गौतमको भनाई छ ।
परिवारमा १ छोरी, १ छोरा र श्रीमती छन् । छोरीले ईन्जीनियर अध्ययन गर्छिन् भने छोराले कक्षा ९ मा अध्ययन गर्छन् । श्रीमतीले उनको व्यवयायमा सहयोग गर्ने गर्छिन् । एक जनाको कमाईले ४ जनाको दैनिकी धान्नु परेको उनी बताउँछन । ठेलाको तरकारी बेचेको आम्दानीबाटै उनले बागलुङको उपल्लाचौरमा करिब ३० लाख भन्दा बढि पर्ने घडेरी किनेका छन् । (नयाँ पत्रिका)