क्रिकेटमा खेलाडीले जिते, जित्ने पालो सरकारको अब के होला ?



काठमाडौं । विश्वकप छनौटमा नेपालले हारसँगै आफ्नो यात्रा टुंगाएको छ । शनिबार नेदरल्याण्डविरुद्ध ४५ रनको हार बेहोर्दै नेपाली टिमले विश्वकप छनौटमा आठौ स्थानमा रहेको छ ।

यस प्रतियोगितामा नेपालले खेलेका समुह चरणका चार खेलमा एकमा मात्र जित हासिल गर्यो भने प्ले अफ खेलमा खेलेका दुइ मध्ये एक खेलमा जित हासिल गर्यो । समग्रमा नेपालले खेलेका ६ खेलमा ४ खेलमा पराजित भयो भने २ खेलमा जित हासिल गर्यो ।

समग्र प्रतियोगिताको नतिजा नेपालका लागि सुखद नभए पनि नेपालले जितेका दुई खेलले इतिहास बनाएको छ । सोहि दुई खेलको जितले नेपाललाई पहिलो पल्ट एकदिवसीय मान्यता दिलायो र इतिहास बनायो । नेपालका खेलाडीले निर्णायक अवस्थामा अलिकति भाग्यको साथ लिदै नेपाललाई एकदिवसीय यात्रामा लैजान सफल भए ।

समग्र प्रतियोगिताको विश्लेष्ण गर्दा नेपालले हारेको देखिएपनि एकदिवसीय मान्यताले नेपालले हारेर पनि जितेको देखिएको छ । नेपाली क्रिकेट यतिबेला अहिलेसम्म कै उत्कृष्ट र ऐतिहासिक मोडमा रहेको छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय मिडियामा नेपाली क्रिकेट प्रमुख हेडलाइन बनेको छ । अस्ट्रेलियाका माइकल क्लार्कदेखि भारतका महेन्द्रसिंह धोनीसम्मले नेपाली खेलाडी र नेपाली क्रिकेटको प्रशंसा गरेका छन् ।

खेलाडीको प्रदर्शन :

प्रतियोगिता नेपाली कप्तान पारस खड्का, युवा लेग स्पिनर सन्दीप लामिछाने, सोमपाल कामी, दिपेन्द्रसिंह ऐरी, रोहित पौडेललगायतका खेलाडीको प्रदर्शन उत्कृष्ट रह्यो । सन्दीपले प्रतियोगितामा ६ खेलमा १३ विकेट लिदै धेरै विकेट लिनेको सुचिमा चौथो स्थानमा रहे । सन्दीपले प्रतियोगितामा कुल ५७.४ ओभर बलिङ गर्दै सर्वाधिक ९ मेडन ओभर फालेका छन् । अन्तिम खेलमा नेदरल्याण्डविरुद्ध १४ रन नट आउट बनाएर सन्दीपले टिमलाई परेको बेलामा रन पनि बनाउन सक्छन भन्ने देखाएका छन् ।

त्यस्तै नेपालका कप्तान पारस खड्काले प्रतियोगितामा ६ खेल खेल्दै २३१ रन बनाए । उनले यसै प्रतियोगितामा नेपालका तर्फबाट लिस्ट ए क्रिकेटमा एक हजार रन बनाउने पहिलो खेलाडी पनि बने । यो नेपालकै लागि पनि ऐतिहासिक उपलब्धि हो ।

त्यस्तै नेपालका लागि अर्का खेलाडी सोमपाल कामीले ६ खेलमा ५ पारीमा ११२ रन बनाउदै नेपालक लागि अलराउन्डरको भूमिकामा देखिए जुन नेपालका लागि अत्यन्त सुखद विषय हो । सोमपालले प्रतियोगितामा ६ खेलमा ८ विकेट पनि लिए । नेदरल्याण्डविरुद्धको खेलमा ४ विकेट लिएर उनले आफ्नो उत्कृष्ट फर्म देखाएका थिए ।

त्यस्तै यस प्रतियोगितामा दिपेन्द्रसिंह ऐरी र रोहित पौडेलले पनि नेपाली क्रिकेटको भविष्य देखाएका छन् । टिमलाई आवस्यक परेको बेलामा उनीहरुले गरेको प्रदर्शनले नेपाली क्रिकेटमा भविष्यमा उनीहरु ठुलो खेलाडी बन्ने संकते दिएका छन् ।

त्यस्तै युवा खेलाडी आरिफ सेख र बलर करण केसीले पनि मौका पाएको बेला आफुलाई साबित गर्न चुकेनन् । यो नेपाली क्रिकेटको लागि सुखद विषय हो ।

नेपाली ओपनर र केहि सिनियर क्रिकेटरको यस प्रतियोगिताको प्रदर्शनले प्रश्न उठाएको छ । टिमलाई गतिलो सुरुवात नदिदा पुरै टिम दबाबमा आएर नेपालले धेरै खेलमा हार बेहोरेको छ । नेपाली छनौटकर्ता र खास गरि कोचले ओपनरको विषयमा प्रशस्त कम गर्नुपर्ने देखिएको छ । यँहा कुनै व्यक्तिगत खेलाडीलाई दोष दिनुभन्दा पनि समग्रमा नेपाली ओपनर डिभिजन २ देखि नै फ्लप भएका छन् । यसलाई नेपाली टिम व्यवस्थापनले समयमै ठिक पार्नुपर्ने देखिएको छ ।

एकदिवसीय यात्रा :

नेपालले एकदिवसीय यात्रा तय गर्दै गर्दा अबका ४ बर्ष नेपाललाई क्रिकेटको पूर्वाधार बनाउने र नेपाल क्रिकेट संघको विवाद टुंगाएर व्यवस्थित गर्ने चुनौती रहेको छ । एकदिवसीय मान्यता पाउदा नेपालले आइसीसीबाट पाउने सहयोग रकम र सुविधाले नेपाली खेलाडी र समग्र क्रिकेटको विकासमा सहयोग पुग्ने छ भने नेपाली राष्ट्रिय टिमले बार्षिक क्यालेन्डरमा धेरै खेल खेल्न पाउने छ ।

एकदिवसीय मान्याता पाउदैमा नेपाल अहिले नै भारत, अस्ट्रेलियाजस्ता देशसँग खेल्न पाउछ भन्ने छैन तर नेपाल जस्तो बर्षमा एक दुइ प्रतियोगिता पनि नहुने देशका लागि भारत, अस्ट्रेलिया भन्दा पनि आफ्नै देशको हाराहारीमा रहेका युएई, नेदरल्याण्ड, स्कटल्याण्ड, आयरल्याण्ड, अफगानिस्तान जस्ता देशहरुसँग नियमित क्रिकेट खेल्ने वातावारण भने अब बन्न सक्छ ।

नेपालमा देखेको क्रिकेटको क्रेजले गर्दा आइसीसीको नेपालप्रति कहिँ न कहिँ अलिकति सफत कर्नर देखिन्छ । सोहि कारणले नै नेपालका क्यान सस्पेन्डमा हुदा पनि आइसीसीले आफैले नेपाली टिम छानुत देखि प्रतियोगिताहरुमा सहभागिता गराउदै आएको छ । नेपालमा क्यान व्यस्थित भएको खण्डमा आइसीसीको सहयोग र समर्थन झन् बढ्ने देखिन्छ ।

साथै एकदिवसिय मान्यता पछि नेपाली खेलाडी र टिम आइसीसीको एकदिवसीय वरियतामा आउने छन् जसले नेपाली टिम र खेलाडीलाई थप राम्रो प्रदर्शन गर्न प्रेरित गर्ने छ ।

कसले कहिले पाए एकदिवसीय मान्यता ?

सबैभन्दा पहिले ५ जनवरी १९७१ मा अस्ट्रेलिया र इङल्याण्डले एकदिवसीय मान्यता पाएका थिए । त्यसपछि पाकिस्तानसँगै न्यूजील्याण्डले पनि ११ फेब्रुअरी १९७३ मा एकदिवसीय मान्यता पायो । भारतभन्दा अगाडि नै ५ सेप्टेम्बर १९७३ मा वेष्ट इण्डिजले एकदिवसीय मान्यता पाएको थियो । भारतले भने त्यसको झण्डै डेढ वर्षपछि १३ जुलाई १९७४ मा एकदिवसीय मान्यता पाएको थियो ।

श्रीलंकाले १३ फेब्रुअरी १९८२ मा मात्र एकदिवसीय मान्यता पाएको हो । दक्षिण अफ्रिकाले १० नोभेम्बर १९९१ मा एकदिवसीय मान्यता पायो । त्यस्तै जिम्बाबेले १ फेब्रुअरी १९९३ मा र १० अक्टोबर १९९७ मा एकदिवसीय मान्यता पाएका थिए ।

त्यसपछिका २० वर्षसम्म कुनै पनि टिमले स्थायी एकदिवसीय मान्यता पाउन सकेनन् । अहिले आएर २०१७ को डिसेम्बर ५ मा आयरल्याण्ड र अफगानिस्तानले स्थायी एकदिवसीय मान्यता पाएका हुन् ।

यसपछि अहिलेको विश्वकप छनोट प्रतियोगिता पछि स्कटल्याण्ड, युएइ, नेपाल र नेदरल्याण्डले २०२२ सम्मका लागि अस्थायी एकदिवसीय मान्यता पाएका छन् ।

पालो सरकारको :

नेपालले एकदिवसीय मान्यता पाएपछि क्रिकेटमा लगानी गरेर पूर्वाधार विकास गर्ने दबाब अब सरकारलाई बढेको छ । नेपाली क्रिकेट प्रेमीहरुले पनि सरकारलाई अब पूर्वाधारमा लागानी गर्न दबाब दिइरहेका छन् । साथै अहिलेको अवस्थामा खेलाडीले उच्च मनोबलका साथ् प्रदर्शन गर्दै नेपाललाई एकदिवसीय मान्यता दिलाएपछि सरकार नैतिक रुपमा पनि क्रिकेटको लगानी बढाउन बाध्य हुनुपर्ने छ ।

दुईतिहाई बहुमतको सरकार, राजनीतिक रुपमा पनि देह्स स्थिरतातर्फ गैरहेको र सरकार ५ बर्षका लागि निर्वाचित भैसकेको अवस्थामा पनि सरकारले क्रिकेटमा लगानी गरेन भने नेपालको क्रिकेटले फड्को मार्न कहिल्लै सक्ने छैन ।

खेलाडीले जसरी पनि नेपाललाई एकदिवसीय मान्यता दिलाएर दुनियाँको मन जिते अब क्रिकेटमा लगानी गरेर पूर्वाधारको विकास गरि क्रिकेटप्रेमीको मन जित्ने पालो सरकारको । (खरिबोटबाट)

प्रतिक्रिया दिनुहोस्