उपत्यकामा पुनःनिर्माणलाई गति दिन निर्देशन



काठमाडौँ, ५ चैत

काठमाडौँ उपत्यकामा निजी आवास पुनःनिर्माणको गति सुस्त भइरहेका बेला तीव्रता दिन प्राधिकरणले माहतहतका निकायलाई निर्देशन दिएको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले शहरी विकास मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतका केन्द्रीय आयोजना कार्यान्वयन एकाइका प्रमुखसहित काठमाडौँ, ललितपुर र भक्तपुरका शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय, प्राधिकरणलगायत निकायका प्रमुखसँगको बैठकमा उपत्यकामा निजी आवास पुनःनिर्माणको गतिलाई तीव्रता दिने गरी काम गर्न निर्देशन दिनुभयो ।

पुनःनिर्माणमा आइपर्ने समस्यालाई फुकाउन प्राधिकरण तयार रहेको उल्लेख गर्दै उहाँले नतिजामुखी भएर काम गर्न कर्मचारीलाई निर्देशन दिनुभयो ।

सहुलियत ऋण प्रवाहमा भएको ढिलाइ र जग्गासम्बन्धी समस्याका कारण घर बनाउन नसकेको कार्यक्रममा अधिकांश सहभागीले जानकारी गराए ।

बैठकले सहुलियत ऋण र अनुदान वितरणमा बैंकले दिएको हैरानी र समस्यालाई सम्बोधन गर्न राष्ट्र बैंकको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । पुनःनिर्माण लाभग्राहीबाट प्रवलीकरण लाभग्राहीमा सर्न चाहनेलाई आवश्यक जानकारी दिन प्रचारप्रसार कार्यक्रम अघि बढाउने निर्णय गरेको छ ।

संयुक्त पूर्जा भएका लाभग्राहीलाई बहु स्वामित्व र बहुतले भवन बनाउन प्रोत्साहन गर्न प्रचारप्रसारलाई व्यापक बनाउने निर्णयसमेत बैठकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्