काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अब नयाँ मोडमा प्रवेश गरेको बताएका छन् । चन्द्रागिरी नगरपालिकास्थित मातातीर्थमा सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान तालिम केन्द्रको सोमबार उद्घाटन गर्दै ओलीले विगततिर फर्केर पश्चाताप गर्ने समय अब नरहेको बताए ।
‘अब पश्चाताप गर्ने होइन, समीक्षा गर्ने होइन वर्तमान र भविष्यलाई हेरेर देश निर्माणका लागि काम गर्नुपर्छ’, ओलीले भने, ‘हिजो भनाभन गरेका थियौँ, झगडा गरेका थियौँ भनेर त्यतातिर फर्कने समय होइन यो । अब सबै मिलेर देश निर्माण लाग्नु पर्छ ।’
जनताले विकास निर्माण, उत्पादन, शिक्षा, स्वास्थ्य र सुरक्षा हरेक क्षेत्रमा परिवर्तन चाहेको प्रधानमन्त्री ओलीको भनाइ छ । ‘हाम्रा बाटा चिल्ला हुन् । खेत बाँझा नहुन् । खेतमा धान र गहुँका बाला झुलुन् । विद्यालयमा पढाइ चलोस भन्ने सबैको चाहना छ,’ प्रधानमन्त्री ओलीले भने, ‘यसका लागि हामी सबै एकताबद्ध भएर लाग्नु पर्छ । जनताको यो सपना पुरा हुन्छ ।’
प्रधानमन्त्री ओलीले सबैले आफ्ना आचारणमा पनि सुधार ल्याउनु पर्ने पनि बताएका छन् । ‘सबैले शान्तिको अनुभुती गरुन् । कसैलाई अन्याय नपरोस’ ओलीले भने, ‘मान्छे देख्दा शुत्र होइन । दाजुभाइ दिदीबहिनी देखियोस ।’
प्रधानमन्त्री ओलीले सशस्त्र प्रहरी बलले स्थापनाको छोटो समयमै समाजमा शान्ति सुरक्षा स्थापनामा निर्वाह गरेको भूमिकाको प्रशंशा गरे । उनले सशस्त्र प्रहरी बललाई राष्ट्रिय एकता, अखण्डता र सार्वभौमसत्तालाई ध्यानमा राखेर काम गर्न पनि निर्देशन दिए ।
यो तालिम केन्द्र निर्माणका लागि चीन सरकारको ३ अर्ब ६० करोड रुपैंयाको सहयोग गरेको थियो । प्रधानमन्त्री ओलीले चीन सरकारलाई यस सहयोगका लागि धन्यवाद दिएका छन् । (अन्नपुर्ण पोस्ट)