सन्यास लिए इंग्ल्याण्डका दिग्गज ब्याट्सम्यान पिटरसनले



काठमाडौं,
इंग्ल्याण्डका दिग्गज ब्याट्सम्यान केभिन पिटरसनले क्रिकेटबाट सन्यास लिएका छन् । पछिल्लो पटक सन् २०१४ को जनवरीमा अष्ट्रेलिया विरुद्दको टेस्ट म्याच पछि उनी इंग्ल्याण्डको जर्सीमा देखिएका थिएनन् तर चर्चित बिदेशी लिगहरुमा उनको उपस्थिति रहँदै आएको थियो ।

३७ वर्षीय दायाँ हाते ब्याट्सम्यान पिटरसनको जन्म सन् १९८० मा दक्षिण अफ्रिकामा भएको थियो । आफ्नो करियरमा इंग्ल्याण्डबाट १०४ टेस्ट खेलेका पिटरसनको नाममा ४७.२८ को उत्कृस्ट औसतमा ८,१८१ रन रहेको छ । त्यसक्रममा उनको नाममा २३ शतक र ३५ अर्धशतक रहेको छ । यस्तै १३६ एक दिवसीय खेलमा पिटरसनले ९ शतक र २५ अर्ध शतक सहित ४,४४० रन जोडेका छन् ।

शनिवार आफ्नो ट्वीटर मार्फत उनले सन्यासको घोषणा गरेका हुन् । यद्धपि उनले सन्यास लिने संकेत पाकिस्तान सुपर लिग सुरु हुनु भन्दा अघि नै गरेका थिए । पिटरसन अन्तर्राष्ट्रिय क्रिकेटमा एक बिष्फोटक ब्याट्सम्यानका रुपमा परिचित नाम हो । आधुनिक क्रिकेटमा धेरै ब्याट्सम्यानहरुले प्रयोग गर्ने आक्रामक सट “स्विच हिट” को सुरुवातको श्रेय पिटरसनलाई जाने गर्दछ । विश्वभरका चर्चित टि २० लिगहरु आइपिएल, बिग ब्यास, पीएसएल आदिमा पिटरसन चर्चित नाम हो ।

सन् २००५ मा पिटरसनले एकै वर्ष आइसीसी एक दिवसीय वर्ष खेलाडी र उदयमान खेलाडीको उपाधि पाएका थिए । यो उचाई हाँसिल गर्ने उनी पहिलो खेलाडी हुन् । साथै पिटरसन आइसीसी प्रतियोगितामा उत्कृस्ट खेलाडी घोषित हुने इंग्ल्याण्डका पहिलो खेलाडी हुन् । उनी सन् २०१० को आइसीसी टि २० विश्वकपमा उत्कृस्ट खेलाडी घोषित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्