अस्ट्रेलियामा नयाँ भिसा प्रक्रिया सुरु, नयाँ भिसामा विद्यार्थीहरूलाई सर्त पूरा गर्न कठिन



अस्ट्रेलिया, ६ चैत

अस्ट्रेलियाले गत आइतबारदेखि लागू हुने गरी नयाँ भिसा प्रक्रिया जारी गरेको छ । यसअघि रहेको विदेशी कामदारहरूलाई दिइने ४५७ भिसा हटाएर मार्च १८ तारिखदेखि छोटो अवधि र लामो अवधिको भिसा भनेर वर्गीकरण गरिएको छ ।

जसअनुसार लामो भिसामा अस्ट्रेलिया आउने विदेशी कामदारले स्थायी बासिन्दा (पीआर) को अनुमतिका लागि आवदेन दिन पाउनेछन् भने छोटो भिसामा आउनेहरूलाई यो सुविधाबाट वञ्चित गरिएको छ ।

अध्यागमन मन्त्रालयका अनुसार यो भिसा दुई वर्ष र चार वर्षका लागि बनाइएको छ । दुई वर्षका लागि आउनेहरूले काम सकेपछि फर्कनुपर्ने छ भने ४ वर्षका लागि आउनेहरूले आएको ३ वर्षपछि स्थायी अनुमतिका लागि आवेदन दिन पाउनेछन् । यस भिसामा विदेशबाट कामदार बोलाउनुअघि अस्ट्रेलियामै रहेका कामदारलाई प्राथमिकता दिएको हुनुपर्ने सर्तसमेत राखिएको छ ।

अध्यागमन क्षेत्रमा काम गरिरहेका विज्ञहरूका अनुसार यो भिसा प्रक्रियाले सबैभन्दा कठिनाइ विद्यार्थीहरूलाई हुनेछ । यस पहिलेको ४५७ भिसामा अध्ययन सकेपछि प्रक्रियामा जान सहज हुने भए पनि नयाँ भिसामा भने विद्यार्थीलाई भिसाका सर्त पूरा गर्न कठिन बनाइएको छ । यस भिसामा विदेशबाट आउन चाहनेहरूले कम्तीमा सम्बन्धित क्षेत्रमा दुई वर्ष काम गरेको हुनुपर्ने र उनीहरूको अनुभव र अध्ययनको समेत सम्बन्धित निकायबाट जाँच हुनेछ ।

अस्ट्रेलियाले पछिल्लो समयमा आफ्नो अध्यागमन नीतिमा फेरबदल गरिरहेको छ । वर्तमान सरकारले विदेशी नागरिकलाई अस्ट्रेलियाको नागरिकता दिने नीतिमा समेत व्यापक परिवर्तन गर्ने कोसिस गरेको भए पनि अहिले उक्त अध्यादेशले संसदबाट अनुमति पाउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्