‘पाकिस्तानले छिट्टै सार्क शिखर सम्मेलनको आयोजना गर्न सकोस्’



काठमाडौं, ६ चैत । उपराष्ट्रपति नन्दबहादुर पुनले सार्क शिखर सम्मेलनको आयोजना गर्न पाकिस्तानलाई आग्रह गरेका छन्।

उपराष्ट्रपतिमा निर्वाचित भएपछि पाकिस्तान सरकारका तर्फबाट बधाई दिन आएका नेपालका लागि पाकिस्तानी राजदूत डा. मजहर जावेदसँगको भेटमा पुनले पाकिस्तानले छिट्टै सार्क शिखर सम्मेलनको आयोजना गर्न सकोस् भनेर शुभकामना दिए।

आफूलाई बधाई दिएकोमा पाकिस्तान सरकार, पाकिस्तानी जनता र नेपालका लागि पाकिस्तानी राजदूतलाई धन्यवाद दिँदै उपराष्ट्रपति पुनले नेपालको समृद्धिका लागि सहकार्य गर्न चाहेको बताए। नेपाल पाकिस्तान सम्बन्ध समधुर रहेको बताउँदै उनले दुई देशले भोगिरहेका समस्यामा सहकार्य गर्नुपर्नेमा जोड दिए।

भेटमा पाकिस्तानका राजदूत जावेदले उपराष्ट्रपतिमा पुनः निर्वाचित भएकोमा पुनलाई पाकिस्तान सरकारको तर्फबाट बधाई दिँदै नेपाल पाकिस्तानको सहकार्य धेरै क्षेत्रमा रहेको स्मरण गरे। उनले नेपालसँगको हरेक सहकार्यमा पाकिस्तान अत्यन्त खुशी रहेको बताए। केही समय अगाडि भएको पाकिस्तानका प्रधानमनमन्त्रीको नेपाल भ्रमणले दुई देशबीचका सम्बन्ध अझै घनिष्ठ बनाएको उल्लेख गर्दै दुई देशबीच उच्चस्तरीय भ्रमण जारी राख्नुपर्ने बताए।

बंगलादेशको पनि बधाई

यस्तै, मंगलबार नै उपराष्ट्रपति पुनलाई बंगलादेशले पनि बधाई दिएको छ। बंगलादेशका राजदूत मासफी बिन्टे शाम्सले उपराष्ट्रपतिलाई भेटी बधाई तथा शुभकामना दिएकी हुन्।

बंगलादेशका राजदूतसँगको भेटमा उपराष्ट्रपति पासाङले दुई देशको सम्बन्ध अत्यन्त घनिष्ठ भएको उल्लेख गर्दै थप प्रगाढ बनाउनुपर्ने बताए। उनले केही दिनअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यूएस बंगला एयरलाईन्सको विमान दुर्घटना हुँदा भएको मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गरे।

भेटमा बंगलादेशका राजदूतले उपराष्ट्रपतिमा पुनः निर्वाचित भएकोमा बंगलादेश सरकारको तर्फबाट बधाई दिइन। उनले त्रिभुवन विमान स्थलमा यूएस बंगलाको विमान दुर्घटना हुँदा उद्धार र घाइतेहरुको उपचारमा नेपालले उच्चस्तरीय प्रबन्ध मिलाएको बताउँदै धन्यवाद दिइन। (नागरिक न्युज)

प्रतिक्रिया दिनुहोस्