सरकारले नि:शुल्क उपलब्ध गराउने भनिएको औषधी पाउन मुस्कील



रौतहट, ७ चैत

रौतहट जिल्लाका स्वास्थ्य संस्थामा सरकारले निशुल्क उपलब्ध गराउने भनेको औषधी समेत पाउन छाडेको छ । १८ स्थानीय तहमध्ये धेरैले अहिलेसम्म औषधि खरिद नै गरेका छैनन् ।

पहिले जिल्ला जनस्वास्थ्यले औषधि आपुर्ति गदै आएकोमा स्थानीय तहको नयाँ संरचनापछि सम्बन्धित गाउँपालिका र नगरपालिकाले नै खरिद गर्नुपर्ने व्यवस्था छ । २५ देखी ३० किसिमका औषधि बिरामीलाई निशुल्क दिने गरेकामा पछिल्लो समय महंगा औषधि सरकारी स्वास्थ्य संस्था बाहिर किन्नुपर्ने बाध्यता रहेको छ ।

पर्याप्त औषधि उपलब्ध गराईदिन पटकपटक लिखित र मौखिक आग्रह गर्दा समेत नगरपालिका र गाँउपालिकाले बेवास्ता गरेको स्वास्थ्य संस्थाका कर्मचारीको गुनासो छ । चन्द्रनिगाहपुर स्थित सरकारी अस्पताल र चन्द्रपुर नगरपालिकामा रहेको अधिकांश स्वास्थ्य संस्थामा औषधिको अभाव रहेको छ । जिल्लाका अधिकांश स्वास्थ्य संस्थाको अवस्था अहिले यस्तै छ ।

सरकारले स्वास्थ्य चौकीबाट ४५, प्राथमिक स्वास्थ्य केन्द्रबाट ६० र जिल्ला अस्पतालबाट ७० किसिमका औषधि निशुल्क उपलब्ध गराउने घोषणा गरेको थियो । गत साउन मै औषधिको टेण्डर हुनुपर्नेमा त्यो हुन नसक्दा चन्द्रपुर नगर क्षेत्रमा रहेका सरकारी स्वास्थ्य संस्थाबाट निशुल्क औषधि पाउन छाडिएको हो ।

प्रतिक्रिया दिनुहोस्