समृद्धि र विकास अबको आवश्यकता : अध्यक्ष तिमिल्सिना



पोखरा, ७ चैत

राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले समृद्धि र विकास अबको आवश्यकता भएको बताउनुभएको छ ।

नेपाल पत्रकार महासंघ कास्कीद्वारा आज यहाँ आयोजित साक्षात्कार कार्यक्रममा उहाँले जनतालाई समृद्धिका माध्यमबाट खुसी र सुखी बनाउनु वर्तमान सरकारको प्रमुख दायित्व भएको बताउनुभयो ।

अध्यक्ष तिमिल्सिनाले रिबन काट्ने र भाषणबाट नभै जनतालाई कसरी समृद्ध बनाउन सकिन्छ भनी सोच्नुपर्ने बेला आएको उल्लेख गर्नुभयो ।

“संघीय संसद्ले छिटोभन्दा छिटो कानून बनाएर प्रदेश सरकारलाई  बुझाउन सक्यो भने  विकास र समृद्धिका कार्य छिटो अगाडि बढ्न सक्छन्,” उहाँले भन्नुभयो, “पाँच वर्षको अवधिमा नेपाली जनताले समृद्धिको महसुस गर्ने अवस्था सिर्जना गर्नु अपरिहार्य छ ।”

देशको अर्थतन्त्र घाटामा रहेको बताउँदै उहाँले करको दायरा बढाएर विकासका योजना अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

भ्रष्टाचार न्यूनीकरण गर्दै आम नागरिकलाई सुशासन दिन सक्नुपर्नेमा उहाँको जोड छ । देशमा विधिको शासन हुनुपर्नेमा जोड दिँदै उहाँले जनतालाई अधिकार सम्पन्न बनाउँदै न्याय एवं सुशासनपूर्ण वातावरणको प्रत्यक्ष अनुभूति गर्न पाउनुपर्ने बताउनुभयो ।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले बोल्नेभन्दा काम गरेर देखाउने समय आएको बताउँदै अब जनताले कामप्रति चासो दिन थालेको उल्लेख गर्नुभयो । (रासस)

प्रतिक्रिया दिनुहोस्